निजगढमा सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध भूमि संरक्षण संघर्ष समिति बनाएर आन्दोलनको घोषणा

गढिमाइ खबर
33 पाठक संख्या

निजगढ । बाराको निजगढ क्षेत्रमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्ती हटाउने सरकारी तयारीविरुद्ध स्थानीय स्तरमा विरोध चर्किन थालेको छ। संयुक्त सुकुम्बासी अव्यवस्थित भूमि संरक्षण संघर्ष समितिले औपचारिक रूपमा आन्दोलन घोषणा गर्दै सरकारको कदमको तीव्र आलोचना गरेको छ।

समितिले सार्वजनिक गरेको विज्ञप्तिमा वर्षौँदेखि बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई कुनै वैकल्पिक व्यवस्था नगरी हटाउने प्रयासलाई “अमानवीय र गरीबविरोधी” निर्णयको संज्ञा दिइएको छ। “नागरिकको संरक्षण गर्ने जिम्मेवारी बोकेको राज्य नै उनीहरूलाई विस्थापित गर्न अग्रसर हुनु दुःखद हो,” विज्ञप्तिमा उल्लेख छ।

स्थानीयका अनुसार पछिल्ला दिनहरूमा डोजर चलाउने तयारीका खबर बाहिरिएपछि बस्तीमा त्रास र अन्योल बढेको छ। संघर्ष समितिले सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गर्दै बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

यसै सन्दर्भमा समितिले वैशाख २५ गते दिउँसो १२ बजे निजगढको सहिदचोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। आन्दोलनमा व्यापक सहभागिता जनाउन आह्वान गर्दै समितिले यसलाई “अधिकार र अस्तित्वको लडाइँ” को रूपमा व्याख्या गरेको छ। समितिले अन्त्यमा आफ्नो आन्दोलनलाई थप सशक्त र संगठित बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएको छ।

साझा गर्नुहोस्