५० हजार घुस प्रकरणमा डिठ्ठा लवकुमार सिंहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

गढिमाइ खबर
31 पाठक संख्या

कलैया । रौतहटको गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। आयोगले विशेष अदालत काठमाण्डौंमा सोमबार आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन्।

अदालतको फैसलाबमोजिम दा.खा. पुर्जी गरी जग्गा फुकुवा गराई दिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनीमाथि अनुसन्धान अख्तियारले गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले डिठ्ठा लव कुमार सिंहलाई सेवाग्राहीसँग रू. पचास हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा रौतहट जिल्ला अदालत, गौरको तहसिल शाखामा कार्यरत डिठ्ठा सिंहले अदालतको फैसला अनुसार दा.खा. पूर्जी गरी रोक्का रहेको जग्गा फुकुवासमेत गर्नको लागि बिभिन्न बाहाना वनाई दुःख हैरानी दिई बार्गेनिङ्ग गरी सेवाग्राहीसँग घुस/रिसवत रू.पचास हजार रुपैयाँ माग गरी लिएको स्थापित भएको हो।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.पचास हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

साझा गर्नुहोस्