कलैया । बाराको सदरमुकाम कलैया-६ स्थित प्रादेशिक अस्पताल कलैयामा रेबिज रोगविरुद्धको खोपको अभाव भएको छ। सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप नहुँदा सर्वसाधारण समस्यामा परेका छन्। अस्पतालमा महिनौदेखि अभाव भएपछि सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाइरहेका छन्। विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्कामा परेका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका–१७ का संजित कुमार चौधरीले अस्पतालले पहुचको भरमा र विभेदकारी तरिकाले रेबिज रोगविरुद्धको खोप वितरण गर्ने गरेको आरोप लगाएका हुन्। कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर सोमबार आएका चौधरीलाई सुई छैन, किनेर ल्याउन भनेपछि उनले महँगोमा सुई किनेर ल्याएका थिए। रेबिजविरुद्धको एउटा खोपको रु. ५ सय ६० तिरेर किनेको उनले बताए।
अस्पतालको एआरभी शाखामा कुकुर बिरालोले टोकेका दैनिक ४०–५० जना सर्वसाधारण रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन्। ‘दैनिक २५ देखि ३० जना नयाँ बिरामी आउँने गरेको प्रादेशिक अस्पताल कलैयाका एआरभी विभागका अहेव रबिन्द्रकुमार यादवले जनाए। उनले अस्पतालमा खोप छैन, सबैलाई बाहिरबाट किनेर ल्याउन भन्ने गरेको जनाए। तीन महिनादेखि सकिँदा गत चैत २८ गते मात्र ९० वटा खोप आएको उनले जनाए। बैशाख ४ गतेदेखि नै पूर्ण अस्पतालको एआरभी शाखामा रेबिजविरुद्धको खोप सकिएको छ।
यता अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा. अजयकुमार गुप्तासंग प्रतिक्रिया लिदा एआरभी शाखामा ३ महिनादेखि खोप सकिएको जानाकारी दिएका छन्। खोप सकेपछि एआरभी शाखाको काम नै छैन,तर कसैले दुख नपाहोस भनेर हामी जनशक्ति उपलब्ध गराएर सेवा दिदै आएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गुप्ताले जनाए। खोप टेन्डरको प्रक्रियामा रहेको र छिटै अस्पतालमा आउने उनले जनाए। अस्पतालमा कसैप्रति पक्षपात नगरिएको उनले बताए ।






