“अब शनिबार–आइतबार बिदा”

गढिमाइ खबर
51 पाठक संख्या

सरकारले महत्वपूर्ण नीतिगत निर्णयहरू गर्दै अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको हो, जुन भोलिदेखि नै लागू हुने बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो व्यवस्था सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुनेछ। यससँगै कर्मचारी तथा विद्यार्थीहरूलाई सातामा दुई दिन विश्रामको सुविधा उपलब्ध हुने भएको छ।
बैठकले देशको डिजिटल पूर्वाधार सुदृढ गर्ने लक्ष्यसहित ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैंक र विश्व बैंकबाट करिब नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप नौ करोड ५० लाख अमेरिकी डलर ऋण लिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सुमन पोखरेलले जानकारी दिए।
सरकारी संरचना सुधारतर्फ अघि बढ्दै बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र मातहतका निकायको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गर्न स्वीकृति दिएको छ।
यसैबीच, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ। साथै, डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्ने नीति अघि बढाउने निर्णय गरिएको छ।
शिक्षा क्षेत्रसँग सम्बन्धित अर्को महत्वपूर्ण निर्णय अनुसार आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन हुने तय गरिएको छ।
सरकारका यी निर्णयहरूले प्रशासनिक सुधार, डिजिटल विकास, वातावरण संरक्षण र जनजीवन सहज बनाउने लक्ष्य राखेको बताइएको छ।

साझा गर्नुहोस्