कलैया, २२ चैत/
आइतवार नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले विकास, प्रशासन सुधार, ऊर्जा व्यवस्थापन तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा नीतिगत निर्णयहरू पारित गरेको हो।
बैठकले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। उक्त ऋण विभिन्न विकास परियोजनाहरूमा खर्च गरिने जनाइएको छ।
यसैगरी, नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ। यस निर्णयले प्रशासनिक संरचना सुधार तथा कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैठकले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। साथै, शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय गरिएको छ।
ऊर्जा संकट समाधान र वातावरणीय सुधारलाई ध्यानमा राख्दै सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ।
त्यसैगरी, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारका यी निर्णयहरू कार्यान्वयनसँगै सार्वजनिक सेवा प्रवाह, ऊर्जा व्यवस्थापन तथा शिक्षा क्षेत्र सुधारमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।





