प्रादेशिक अस्पताल कलैयामा ‘बिरामी बेच्ने’ आरोप: चिकित्सकमाथि संगठित अनियमितताको शंका, छानबिन सुरु

गढिमाइ खबर
310 पाठक संख्या

कलैया, १६ चैत/
बाराको कलैयास्थित प्रादेशिक अस्पताल, जहाँ सर्वसाधारणले सस्तो र सहज उपचारको अपेक्षा राख्छन्, त्यहीँबाट बिरामीलाई निजी क्लिनिकतर्फ ‘डाइभर्ट’ गर्ने घटनाहरू सार्वजनिक हुन थालेपछि स्वास्थ्य क्षेत्रमा गम्भीर प्रश्न उठेका छन्।

अस्पतालका बाल रोग विशेषज्ञ डा. रामनिवास साहमाथि सरकारी अस्पतालमा आएका बिरामीलाई मनोवैज्ञानिक दबाब, त्रास र भ्रम सिर्जना गरी आफ्नै निजी अस्पताल ‘कलैया सब–मेट्रो सिटी अस्पताल’मा सार्ने संगठित अभ्यास गरेको आरोप लागेको छ। यसैबीच, यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएपछि विवाद थप चुलिएको छ।

स्थानीय पीडितहरूका अनुसार सामान्य अवस्थाका बिरामीलाई समेत “ज्यान जोखिममा छ”, “अक्सिजन कम छ”, “यहाँ उपचार सम्भव छैन” जस्ता अभिव्यक्ति प्रयोग गरेर त्रसित बनाइन्छ। त्यसपछि समाधानका नाममा निजी क्लिनिक जान सुझाव दिइन्छ।

सेवाग्राही सिकिन्दर सहनी भन्छन्, “सरकारी अस्पतालमा सबै सामान्य देखिन्छ, तर अचानक डर देखाएर निजी अस्पताल जान दबाब दिइन्छ। त्यहाँ पुगेपछि अत्यधिक शुल्क असुलिन्छ।”

यसै सन्दर्भमा सुवर्ण गाउँपालिकाकी एक सुत्केरी महिलाको घटना सार्वजनिक भएको छ। ती महिलाले प्रादेशिक अस्पतालमै सामान्य रूपमा शिशु जन्माएकी थिइन्। तर केही समयपछि “बच्चाको अक्सिजन स्तर खतरनाक छ” भन्दै परिवारलाई त्रसित बनाइएको आरोप छ। त्यसपछि परिवारलाई निजी अस्पताल लैजान बाध्य बनाइयो, जहाँ १४ दिनसम्म भर्ना राखी करिब १ लाख ४० हजार रुपैयाँ असुलिएको पीडित पक्षको दाबी छ।

आर्थिक रूपमा कमजोर परिवारले छुटको माग गर्दा अस्वीकार गरिएको र तिरेको रकमको आधिकारिक भ्याट बिलसमेत नदिई साधारण कागजमा मात्र हिसाब दिइएको आरोपले थप शंका उत्पन्न गरेको छ।

स्थानीयवासी र सरोकारवालाहरूका अनुसार यस्ता घटनाहरू एक्ला नभई अस्पतालभित्रै जरो गाडेको सम्भावित ‘दलाली प्रणाली’को संकेत हुनसक्छ। एक स्थानीयले भने, “सरकारी अस्पतालबाट बिरामी निजी क्लिनिकमा सार्नु स्वास्थ्य सेवामाथिको ठाडो आक्रमण हो। यो गरिबमाथिको स्पष्ट शोषण हो।”

यसैबीच, अस्पतालको ल्याब सेवामा पनि अनियमितता भएको भन्दै एक भिडियो सार्वजनिक भएको छ। प्रादेशिक अस्पताल कलैयामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राहुल मण्डलको नाम प्रयोग गरी नर्सहरूले बिरामीलाई अस्पतालभित्रैबाट निजी ‘मंगलम ल्याब’ मा पठाउने गरेको आरोप भिडियोमार्फत उठाइएको छ।

यदि यी आरोपहरू पुष्टि भएमा, अस्पतालभित्रको अनियमितता व्यक्तिगत नभई संरचनागत हुनसक्ने आशंका बलियो बन्दै गएको छ।

आरोपबारे प्रतिक्रिया दिँदै डा. रामनिवास साहले सबै आरोप अस्वीकार गरेका छन्। उनले भने, “मलाई त्यस्तो घटना याद छैन। पुरानो कुरा हुन सक्छ। बिना प्रमाण आरोप लगाइएको हो। सबै बिल दिइएको छ, कसैले हराएको हुन सक्छ। एक रुपैयाँ पनि बढी लिएको छैन।”

यता प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले घटनाबारे छानबिन सुरु भइसकेको जानकारी दिएका छन्। “दोष प्रमाणित भए कडा कारबाही हुन्छ,” उनले भने। उनका अनुसार हाम्रो ल्याबमा सुविधाहरु छन्,कुनैकुनै स्पेशल टेस्टहरु हाम्रोमा हुदैनन्। जस्तै टिपिएचए र डिएनेहरु खासमा नेपालमै नै नहुने टेस्टहरु विरामी उपचारका क्रममा इन्डिया तिर पनि पठाउनुपर्छ,यो अस्पतालमा हुने टेस्ट कसैले बाहिर पठाएको भेटियोभने कारवाही गर्छौ,उनले भने ।

तर स्थानीयहरूले यस्ता गम्भीर आरोपमा बारम्बार ‘छानबिन हुँदैछ’ भन्ने औपचारिक प्रतिक्रिया मात्र आउने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

यस विषयमा बारा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य अरविन्द्र शाहले पनि गम्भीर ध्यान दिनुपर्ने बताएका छन्। उनले भने, “सरकारी अस्पताल गरिबका लागि हो। त्यहीँबाट बिरामीलाई जालमा पार्नु अत्यन्त निन्दनीय कार्य हो। निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नैपर्छ।”

साझा गर्नुहोस्