मलंगवा–१० मा अज्ञात समूहको गोली प्रहारबाट एक इन्जिनियरको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक प्रमोद कुमार यादव हुन्। उनी पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत कर्मचारी रहेको र उनको स्थायी घर सिरहा जिल्लामा रहेको बताइएको छ।
प्रारम्भिक जानकारी अनुसार महिला विकास कार्यालय सर्लाही नजिक रहेको आफ्नै डेराबाट बोलाएर नजिकैबाट छातिमा गोली प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान तीव्र पारेको छ। हालसम्म हत्या किन र कसले गरेको हो भन्ने खुलेको छैन। शंकास्पद व्यक्तिहरूको खोजी तथा प्रमाण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ। यद्यपि यस विषयमा थप विवरण दिन प्रहरीले अस्वीकार गरेको छ।
चुनाव नजिकिँदै गरेको अवस्थामा सरकारी कर्मचारीमाथि भएको यो घटनाले स्थानीय तहमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।









