प्रहरीकै संरक्षणमा सीमावर्ती इनर्वा टोलमा अवैध भट्टी! ३० भन्दा बढी मदिरा पसल सञ्चालन, तस्करीसमेत बढ्दो

गढिमाइ खबर
70 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

गढीमाई डेस्क
कलैया, ०२ फागुन/
‎पचरौता नगरपालिका–४ अन्तर्गत भारतसँग सिधै जोडिएको इनर्वा टोल क्षेत्रमा प्रहरीकै मिलेमतोमा अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण भइरहेको आरोप सार्वजनिक भएको छ।

स्थानीय बासिन्दाले सीमावर्ती खेतबारी क्षेत्रमा खुला रूपमा अवैध मदिरा भट्टी सञ्चालन हुँदै आएको बताएका छन्।

‎स्थानीयका अनुसार बेलदारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुनिल यादवको संरक्षणमा कच्चा पदार्थ तयारीदेखि मदिरा उत्पादन, बिक्री तथा ओसारपसारसम्मका गतिविधि सञ्चालन भइरहेको छ। खुला सीमाको फाइदा उठाउँदै भारततर्फ समेत अवैध मदिरा तस्करी हुने गरेको उनीहरूको दाबी छ।

३० भन्दा बढी अवैध पसल, राति पनि सञ्चालन

स्थानीय बासिन्दाका अनुसार सिमानानजिकै एकै स्थानमा ३० भन्दा बढी अवैध मदिरा पसल सञ्चालनमा छन् । रातिको समयमा समेत प्रहरीकै संरक्षणमा पसल खुला रहने गरेको आरोप छ।

सुरक्षा दृष्टिले संवेदनशील मानिने सीमावर्ती क्षेत्रमा प्रहरीकै ‘सेटिङ’मा यस्ता गतिविधि भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन्।

निर्वाचन नजिकिँदै गर्दा सुरक्षामा प्रश्न
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सीमाक्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने अवस्था रहे पनि अवैध मदिरा कारोबार झन् बढ्दै गएको स्थानीयको भनाइ छ।

अवैध मदिरा सेवनका कारण सामाजिक समस्या र आपराधिक घटना बढ्ने जोखिम रहेको उनीहरूले औँल्याएका छन्।

यस विषयमा बेलदारी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुनिल यादवसँग प्रतिक्रिया माग्दा उनले माघ १६ गते मात्र चौकीमा हाजिर भएको र हाल मातहत क्षेत्रको अवस्था बुझ्ने क्रममा रहेको बताएका छन्। यदि अवैध मदिरा भट्टी सञ्चालनमा रहेको पुष्टि भए कानुनी कारबाही गरिने उनको भनाइ छ।

साझा गर्नुहोस्