चौधरीको मौन समर्थन नपाउँदा बुढाथोकी दबाबमा, कांग्रेसभित्रै अविश्वासको राजनीति

गढिमाइ खबर
74 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार शम्भुबहादुर बुढाथोकीको चुनावी अभियान बाहिर देखिएजस्तो मजबुत नभएको संकेत देखिन थालेको छ ।

‎घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका बुढाथोकी पार्टीभित्रकै असहयोग र अविश्वासको घेरामा परेको चर्चा स्थानीय राजनीतिक वृत्तमा बढ्दो छ ।

पार्टीका प्रभावशाली नेता तथा पूर्व खानेपानी मन्त्री उमाकान्त चौधरी चुनावी अभियानमा सक्रिय नदेखिनु स्वयं कांग्रेसभित्रको गम्भीर सन्देशका रूपमा हेरिएको छ । चौधरीको मौनता केवल व्यक्तिगत दूरी नभई राजनीतिक असन्तुष्टिको संकेत भएको कार्यकर्ताहरू बताउँछन् ।

‎गएको निर्वाचन २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसकै युवा नेता रमेश दंगाललाई असहयोग गरेको आरोप खेपेका बुढाथोकीमाथि अहिले आफ्नै विगत भारी बनेको देखिन्छ ।

त्यतिबेला देखिएको गुट उपागुट गुटीय राजनीति अहिले उल्टै आफ्नै अभियानमा बाधक बनेको भन्दै कार्यकर्ताहरू खुला रूपमा असन्तुष्टि पोख्न थालेका छन् ।

‎स्थानीय स्तरमा बुढाथोकीले संगठनात्मक विश्वास निर्माणभन्दा आर्थिक प्रभाव प्रयोग गरेर चुनाव जित्ने रणनीति अपनाएको आरोपसमेत उठिरहेको छ ।

‎चुनाव नजिकिँदै जाँदा कार्यकर्ताको उत्साहभन्दा खर्चको चर्चा बढी हुनुले कांग्रेसभित्रको कमजोर अवस्था झल्काएको विश्लेषण गरिँदैछ ।

पार्टीभित्रको आन्तरिक कलह यति गहिरो देखिएको छ कि केही कांग्रेस समर्थकहरूले नै सामाजिक सञ्जालमार्फत विगतमा आफ्नै उम्मेदवारलाई हराउन सक्रिय हुनेहरू अहिले नैतिकताको कुरा गर्दै रुख चिन्हमा भोट मागिरहेको भन्दै प्रश्न उठाएका छन् ।

‎राजनीतिक विश्लेषकहरूका अनुसार बाहिरी प्रतिस्पर्धाभन्दा कांग्रेसलाई अहिले आफ्नै घरभित्रको असन्तुष्टि ठूलो चुनौती बनेको छ । आन्तरिक एकता बिना चुनावी मैदान जित्ने सपना केवल नारामै सीमित हुने खतरा बढ्दै गएको छ ।

साझा गर्नुहोस्