काठमाडौ १९ माघ/
रिपोर्टिङको क्रममा अहिले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ यात्रुहरू घण्टौँदेखि अलपत्र परेका छन्। काठमाडौँबाट सिमरा जाने बुद्ध एयरको साढे १०:३० बजे निर्धारित उडान अहिलेसम्म उड्ने कुनै निश्चितता देखिएको छैन।
हरेक यात्रुको चाहना हुन्छ—छिटोभन्दा छिटो आफ्नो गन्तव्यमा पुगेर महत्वपूर्ण काम सम्पन्न गर्ने। यही अपेक्षाका साथ यात्रुहरूले बस वा सुमोभन्दा सुरक्षित र छिटो हुने विश्वासमा हवाई यात्रा रोज्छन्। तर नेपालका निजी एयरलाइन्सहरू, विशेषतः बुद्ध एयरको गैरजिम्मेवार र लापरवाहीपूर्ण व्यवस्थापनका कारण यात्रुहरू पटक–पटक एयरपोर्टमै थन्किन बाध्य छन्।
बाराका युवा नेता प्रवेज आलम अन्सारी आज काठमाडौँबाट सिमरा जाने सोही साढे १०:३० बजेको फ्लाइटमार्फत यात्रा गरी बिहान ११ बजे हुने महत्वपूर्ण बैठकमा सहभागी हुनुपर्ने थियो। तर उडान अनिश्चित बनेपछि उनी अहिले पनि काठमाडौँ एयरपोर्टमै बस्न बाध्य छन्।
यो पीडा केवल अन्सारीको मात्र होइन। यहाँ उपस्थित सयौँ यात्रुहरूको साझा पीडा हो।
काठमाडौँबाट भद्रपुर, पोखरा, विराटनगर लगायत विभिन्न गन्तव्यमा जाने यात्रुहरू घण्टौँदेखि विमानस्थलमा अलपत्र अवस्थामा छन्। उडान ढिलाइबारे न त स्पष्ट सूचना छ, न त जिम्मेवार जवाफ। यात्रुहरू अन्योल, आक्रोश र असहायताको अवस्थामा छन्।
चिन्ताजनक पक्ष के छ भने, यस्तो घटना आज मात्र होइन—यो नेपालका हवाई सेवामा वर्षौँदेखि दोहोरिँदै आएको नियमित समस्या हो। तर यस्ता गम्भीर घटनाहरू भइरहँदा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित नियामक निकायहरू सधैंझैँ मौन देखिएका छन्।
यात्रुहरू प्रश्न गरिरहेका छन्?
एयरलाइन्सका लापरवाहीमाथि किन कारबाही हुँदैन?
यात्रुहरूलाई सास्ती दिँदा पनि नियामक निकाय किन चुप लागेर बस्छ?
एयरलाइन्स र नियामकबीचको साँठगाँठ, कमिसन र ढाकछोपको आशंका समेत यात्रुहरूको मुखबाट खुलेआम उठ्न थालेको छ। यदि समयमै कडा निगरानी र कारबाही भए आज सयौँ यात्रु यसरी अपमानित र पीडित हुने थिएनन्।
अब प्रश्न स्पष्ट छ ?
यात्रुको समय, सम्मान र अधिकारको जिम्मेवारी आखिर कसले लिने?
सरकार र नियामक निकायले मौनता तोडेर जवाफदेहिता देखाउने कि, यात्रुहरू सधैंझैँ एयरपोर्टमै पीडा सहेर बसिरहने?









