पर्सा । पर्साको पटेर्वा सुगौली क्षेत्रमा सञ्चालन गरिएको संयुक्त अनुगमन अभियानका क्रममा करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ।
वन विनाश र अवैध काठ तस्करी नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालय तथा स्थानीय वन उपभोक्ताको संयुक्त सहभागिता रहेको थियो।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख समुन्त अधिकारीको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु तथा अरविन्द कुमार सहभागी थिए। प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम र सदस्य श्रवण प्रसाद साहसहित स्थानीय वन उपभोक्ताले पनि सक्रिय भूमिका निर्वाह गरेका थिए।
यसैगरी सशस्त्र प्रहरी बलको तर्फबाट सई नारायण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोलीले वन क्षेत्रमा विशेष निगरानी तथा चेकजाँच सञ्चालन गरेको जनाइएको छ। संयुक्त टोलीले अवैध कटानी, चोरी निकासी र काठ ओसारपसार रोक्न लक्षित अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ।
स्थानीय सरोकारवालाहरूका अनुसार पछिल्ला दिनमा वन कार्यालय, सुरक्षा निकाय र स्थानीय समुदायबीचको समन्वयले वन संरक्षणमा सकारात्मक प्रभाव देखिन थालेको छ। अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही र नियमित अनुगमनलाई निरन्तरता दिनुपर्ने उनीहरूको जोड छ।
वन संरक्षण वातावरणीय सन्तुलन, जैविक विविधता र प्राकृतिक सम्पदाको दिगो व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसमा सबै पक्षको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। सुरक्षा निकायले आगामी दिनमा पनि वन अतिक्रमण, अवैध कटानी र तस्करीविरुद्ध संयुक्त अभियानलाई थप सशक्त बनाइने जनाएको छ।





