ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि जीतपुरसिमराको कडा कदम, दुई ठेक्का रद्द

गढिमाइ खबर
52 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कार्यमा ढिलासुस्ती र लापरवाही देखिएको भन्दै दुई वटा भवन निर्माण योजनाको ठेक्का सम्झौता रद्द गरेको छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न नगर्नुका साथै पटक–पटकको आग्रह र सूचनापछि पनि निर्माण कम्पनीबाट सन्तोषजनक प्रतिक्रिया नआएपछि उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो।

आर्थिक वर्ष २०८१/०८२ मा सम्झौता भएका वडा नं. ७ स्थित फकिरागिरी विद्यालय भवन र वडा नं. १२ को वडा कार्यालय भवन निर्माणको जिम्मा पर्सास्थित एन.के. कन्स्ट्रक्सनले लिएको थियो। तर सम्झौताअनुसार तोकिएको अवधिमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै दुवै ठेक्का सम्झौता अन्त्य गरेको पूर्वाधार विकास शाखा प्रमुख अभयकान्त झाले जानकारी दिए।

उनका अनुसार निर्माण कम्पनीलाई कामको प्रगति, स्रोत व्यवस्थापन तथा कार्य सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धतासहित उपस्थित हुन आग्रह गर्दै वैशाख २२ गते १५ दिने स्पष्टीकरण सूचना जारी गरिएको थियो। तर तोकिएको अवधिभित्र कम्पनीका तर्फबाट न त सन्तोषजनक जवाफ प्राप्त भयो, न त निर्माण कार्यलाई गति दिने कुनै ठोस योजना नै पेश गरियो। त्यसपछि सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तअनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्झौता रद्द गरिएको उनले बताए।

इन्जिनियर झाका अनुसार निर्माण कम्पनीको निरन्तर बेवास्ताका कारण उपमहानगरपालिका यस्तो निर्णय लिन बाध्य भएको हो। ठेक्का रद्द भएसँगै हालसम्म सम्पन्न भएको कामको प्राविधिक मूल्यांकन, नापजाँच तथा वित्तीय हिसाब–किताबको प्रक्रिया अघि बढाइने जनाइएको छ। साथै सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम थप कानुनी प्रक्रिया पनि अगाडि बढाइने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निर्माण व्यवसायी वा उसका आधिकारिक प्रतिनिधिलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरेको यो पहिलो घटना हो। विकास निर्माणका काममा ढिलासुस्ती गर्ने तथा सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्ने निर्माण कम्पनीमाथि भविष्यमा पनि कडा कदम चालिने र आवश्यक परे कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी नगर प्रमुख राजन पौडेलले दिएका छन्।

साझा गर्नुहोस्