पन्ना देवी विद्यालयका सटरबाट १५ लाखभन्दा बढी भाडा बक्यौता, तत्कालीन अध्यक्ष मण्डलको भूमिकामाथि गम्भीर प्रश्न

गढिमाइ खबर
63 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरमा रहेका पन्ना देवी कन्या माध्यमिक विद्यालयको स्वामित्वमा रहेका सटरहरूको भाडा असुलीमा चरम लापरवाही भएको छ।

विद्यालय व्यवस्थापन समितिको चरम लापरबाही र वेवस्थाकै कारण विद्यालयको पाँच बर्षदेखीको सटर भाडा झण्डै १५ लाख रुपैयाँभन्दा बढी रकम उठाउन नसकेको तथ्य बाहिरिएको छ । लामो समयदेखी सटर भाडा उठाउन नसक्नु र आफ्नै नातेदारहरुलाईसमेत सटर भाडामा दिएपछि तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डलको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।

विद्यालयको अभिलेखअनुसार २०८३ वैशाख मसान्तसम्म ११ सटरमध्ये ७ सटरबाट मात्रै १५ लाख ४० हजार २०० रुपैयाँ भाडा बक्यौता रहेको देखिएको छ। विद्यालयको नियमित आम्दानीको महत्वपूर्ण स्रोत मानिने सटर भाडा यति ठूलो रकमसम्म पुग्दा पनि असुली प्रक्रिया प्रभावकारी बनाउन नसकिएको भन्दै तत्कालीन नेतृत्वको कार्यशैलीमाथि अभिभावकहले आलोचना बढेको छ।

साझेदारी टिमलाई प्राप्त तथ्यांकअनुसार यसरी सटरको भाडा रकम वक्यौता रहेकाहरु मध्ये अनुप प्रसाद यादवबाट ४ लाख २७ हजार ५०० रुपैयाँ, नन्दलाल महतो धानुकबाट २ लाख ९२ हजार ५०० रुपैयाँ, नरेन्द्र प्रसाद कुशवाहाबाट २ लाख ३७ हजार रुपैयाँ, माधो प्रसाद कुशवाहाबाट २ लाख ८ हजार रुपैयाँ, सन्देश प्रसाद यादवबाट १ लाख ९२ हजार ५०० रुपैयाँ, अमरेश यादवबाट १ लाख २९ हजार रुपैयाँ तथा पवन अग्रवालबाट ५३ हजार ७०० रुपैयाँ भाडा असुल हुन बाँकी रहेको छ।

विद्यालयसँग सम्बन्धित स्रोतहरूका अनुसार तत्कालीन अध्यक्ष मण्डलको कार्यकालमा बक्यौता रकम उठाउन आवश्यक पहल नभएको मात्र होइन, कतिपय भाडावालालाई संरक्षण गरिएको आशंका समेत गरिएको छ। अझ बक्यौता सूचीमा अध्यक्ष निकट व्यक्तिहरूको नामसमेत देखिएपछि प्रकरणले थप विवादको रूप लिएको छ।

विद्यालयको आर्थिक स्रोत वर्षौंदेखि रोकिँदा विद्यालय सञ्चालन, भौतिक पूर्वाधार विकास तथा शैक्षिक गतिविधिमा प्रत्यक्ष असर परेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार समयमै भाडा असुली गरिएको भए विद्यालयले आर्थिक अभाव झेल्नुपर्ने अवस्था सिर्जना हुने थिएन।

साझेदारी राष्ट्रिय दैनिकले विद्यालयको आम्दानी र खर्चका विषयमा समाचार बनाए बक्यौता प्रकरण सार्वजनिक भएपछि विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार गिरिले रकम असुलीका लागि वडा कार्यालय र न्यायिक समितिलाई पत्राचार गरेका छन्। हिजो २२ गते पत्रिकामा समाचार आएपछि विद्यालय प्रशासनले कानुनी प्रक्रियामार्फत बक्यौता उठाउने तयारी थालेको जनाएको हो ।

स्थानीय अभिभावक तथा बुद्धिजीवीहरूले विद्यालयको सम्पत्तिबाट प्राप्त हुनुपर्ने लाखौँ रुपैयाँ किन वर्षौंदेखि उठ्न सकेन भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूले बक्यौता असुलीमा देखिएको लापरबाही, जिम्मेवारीहीनता वा सम्भावित मिलेमतोबारे सम्बन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन ।

यता विद्यालयको जग्गाको आम्दानीका विषयमा साझेदारी साझेदारी राष्ट्रिय दैनिकले तथ्यसहित समाचार लेखेपछि तत्कालिन अध्यक्ष मण्डलले पत्रकार भने आफ्ना गल्ती र कमिकमजोरीलाई ढाकछोप गर्न पत्रकार सम्मेलन गरेका थिए । अध्यक्ष मण्डलको यही गत चैत्र महिनामा कार्यकाल सकिए हो, भने विद्यालयमा हालसम्म अरु समिति गठन हुन सकेको छैन ।

साझा गर्नुहोस्