मुख्यमन्त्री कार्यालयसहित पाँच जनाविरुद्ध अवहेलना मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

गढिमाइ खबर
126 पाठक संख्या

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जनकपुरधाम धनुषासहित पाँच जना पदाधिकारीविरुद्ध अदालतको आदेश अवहेलना गरेको आरोपमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको इजलास नं. २ का माननीय न्यायाधीश हरिप्रसाद पौडेल र माननीय न्यायाधीश निर्मला शाक्यको संयुक्त इजलासले अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो ।

कारण देखाउ आदेश प्राप्त गर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सो कार्यालयका प्रमुख सचिव कमलप्रसाद भट्टराई, प्रदेश सचिव यमेन्द्र उपाध्याय, उपसचिव रोहितकुमार कोइराला तथा कर्मचारी प्रशासन शाखाका सम्बन्धित कर्मचारी रहेका छन् ।

कलैया उपमहानगरपालिका कार्यालयमा कार्यरत छैठौँ तहका कर्मचारी सुनिलप्रसाद यादवले आफूलाई देवताल गाउँपालिकामा सरुवा गर्न माग गर्दै २०८२ जेठ ५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निवेदन दिएका थिए । तर सरुवा नगरेपछि उनले २०८२ असार १२ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा परमादेश माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको इजलास नं. ३ का माननीय न्यायाधीश जगतबहादुर थापा र दुर्गाप्रसाद डुंगेलको संयुक्त इजलासले २०८२ कार्तिक २४ गते सरुवा गर्न परमादेश जारी गरेको थियो ।

तर अदालतको परमादेश आदेश कार्यान्वयन नगरेको भन्दै कर्मचारी यादवले अवहेलना मुद्दा दायर गरेका थिए । सोही अवहेलना मुद्दामा अदालतले २०८२ माघ ४ गते सम्बन्धित पक्षहरूलाई कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतको आदेशको अवज्ञा गर्नु कानुनी शासनविपरीत भएको उल्लेख गर्दै इजलासले निर्धारित समयभित्र स्पष्ट कारण पेश गर्न निर्देशन दिएको छ ।

साझा गर्नुहोस्