कलैया : जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले आन्दोलनको नाममा घर तोडफोड नगर्न आग्रह गरेका छन्। उनले घर तोडफोड तथा सार्वजनिक सम्पतिमा हानी नोक्सानी पु-याएमा मुद्दा समेत लाग्न सक्ने चेतावनी दिएका छन्।
आन्दोलनको नाममा विभिन्न व्यक्तिका घरमा तोडफोड र आगजनी भइरहेकोमा उनले चिन्ता जाहेर गरेका छन्। आन्दोलनकारीलाई संयमता अपनाउन उनले आग्रह गरेका हुन्।
अराजक समूहहरुले आफ्ना विरोधीलाई लक्षित गरी घर तोडफोड र आगजनी गर्ने गतिविधि गर्ने गरेको जनाउदै यसो गरेमा कारवाहीको भागि बन्ने उनले जनाएका हुन्। एसपी तामाङले त्यस्ता गतिविधि नगर्न आग्रह गरे। त्यसो गरे प्रहरी मुचुल्का अनुसार मुद्दा चलाइने उनले चेतावनी दिएका छन्।
बारागढी गाउँपालिका–स्थित गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको घरमा तोडफोड र आगजनी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आन्दोलनको नाममा अराजक समूह तथा दुश्मनी साँध्ने व्यक्तिहरुले आफ्नो पुरानो रिसिबी साँध्न क्षति पु-याउने गरेका छन्। प्रहरी उपरीषक तामाङ्गले सर्वसाधारणलाई शान्ति तथा संयमता अपनाउन आग्रह गरेका छन्।
हाल बारामा नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट कार्यक्षेत्रमा खटिएका छन्। बाराका एसपी सन्तोष तामाङ सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला लगायत सुरक्षाका प्रमुखहरु कार्यक्षेत्रमा शान्ति स्थापनाका लागि प्रभावित क्षेत्रमा दिन रात नभनी खटिएका छन्।









