कलैया : धुनषाको जनकपुरमा कानुन व्यावसायीहरुको आक्रमणबाट आधा दर्जन भन्दा बढि पत्रकारहरु घाईते भएको घटनालाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले घोर भत्र्सना गरेको छ ।
पत्रकार महासंघ प्रदेशको भवन निर्माणार्थ गुठी संस्थानबाट प्राप्त जग्गामा प्रदेश समितिले जग्गा संरक्षण गर्न तारले घेराबार गरिरहेका बेला मंगलबार साउन २७ गते बारका जिल्ला अध्यक्ष विमल मिश्र नेतृत्वको एक समूहले महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, विनिता यादव लगायतलाई आक्रमण गरी घाईते बनाएको घटनाको महासंघ निन्दा र भत्र्सना गर्दछ विज्ञप्तिमा उल्लेख छ ।
महासंघका केन्द्रिय समितिका महासचिव रामप्रसाद दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। वकिलहरुको कुटपिटबाट मधेश प्रदेशका महासचिव क्रान्तिको खुट्टा भाँच्चिएको छ। पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको छ । महासंघ घाईते पत्रकारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ विज्ञप्तिमा उल्लेख छ ।
कानुन व्यावसायी जस्तो मर्यादित पेशाका व्याक्तिहरुबाट “अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौ त्यही हुन्छ” भन्दै पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो विज्ञप्तिमा उल्लेख छ। अतः पत्रकारमाथि आक्रमणमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही, घाइते पत्रकारको उपचार र भविष्यमा यस प्रकारको घटना दोहोरिन नदिने प्रबन्ध मिलाउन महासंघले सम्बद्ध निकायसंग जोडदार माग गरेको छ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थल जनकपुरधाम उपमहानगरपालिका, श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको हर्कतप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भनेको छ।
उक्त जग्गा महासंघ प्रदेश समितिले २० वर्षका लागि लिजमा लिएको थियो । नेपाल बार एशोसिएसन धनुषाले आफ्नो हक लाग्ने भन्दै जग्गा कब्जाको प्रयास गर्न खोज्नु शोभनीय विषय होइन महासचिव दाहालले विज्ञप्तिमा लेखेका छन्।
यसैगरी घटनाको नेपाल प्रेस युनियन मधेश प्रदेश, प्रेस चौतारी मधेस प्रदेश र पे्रस सन्टर नेपाल लगायतका पत्रकारहरुका संगठनले समेत गम्भिर ध्यानाकर्षण गराउदै दोषीलाई कडा कारवाहीको माग गरेकाछन ।









