कलैया : बारा जिल्लामा दुई उपमहानगरपालिका सहित १६ वटा स्थानीय तहहरु छन । जसमध्ये तीन वटा स्थानीयहरुले समय सिमा भित्र नीति,कार्यक्रम तथा वजेट ल्याउन सकेनन् ।
संवैधानिक व्यवस्था अनुसार हरेक स्थानीय तहहरुले असार १० गते सम्म अनिवार्य रुपमा आगामी आर्थिक बर्षका लागि आफ्नो स्थानीय तहका नीति तथा बजेट ल्याउनुपर्ने व्यवस्था छ ।
यस्तो व्यवस्था भएपछि मधेस प्रदेश अन्तर्गतको बारा जिल्लामा १६ वटा स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले मात्र अगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका,निजगढ नगरपालिका र सुवर्ण गाउपालिकाले समय सिमा भित्र बजेट ल्याउन नसकेका हुन । जीतपुरसिमरा उपमहानगरपालिकाले असार १० गते अर्थात मंगलबारसम्म आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न सकेको छैन । बजेट बाँडफाँडमा असहमति जनाइएपछि नगर सभाको १२ औं पहिलो बैठक सोमबार स्थगित भएको थियो। अब १२ औं नगर सभाको दोस्रो बैठक असार १८ गते बस्ने नगर प्रमुख राजन पौडेलले जनाए।
यसैगरी निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सूचना जारी गरेर सोमवार गर्ने भनिएको सोह्रौं अधिवेशनको बैठक मंगलवार सम्मको लागि स्थगित गरेका थिए । सूचनामा नगर सभाको अर्को बैठक मंगलवार दिउँसो २ः०० बजे नगर कार्यपालिकाको कार्यालयको सभाहलमा भएको थियोे। त्यहा पनि सहमति भएन्। नीति,कार्यक्रम तथा बजेट सार्वजनिकका लागी अर्को सूचना नआउन्जेलसम्म स्थगित रहने नगरप्रमुख पुरीले बताए।
यता सुवर्ण गाउँपालिकाले असार १६ गते नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने श्रोतले जनाएको छ। संविधानले व्यवस्था गरे अनुसार असार १० गते भित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ।









