कलैया : पूर्वाधार विकास कार्यालय बारामा निलम्बित निमित्त प्रमुख राजेन्द्र प्रसाद साहको राज जारी रहेको छ। साह र लेखा प्रमुख मुकेश प्रजापति मिलेर सो कार्यालयलाई भ्रष्टाचारको अखाडा बनाएका हुन्।
मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट जिल्लामा संचालन भइरहेका योजनाहरुमा निलम्बित प्रमुख साहले हाकाहाकि कमिशनको रकम उठाइरहेको दावी कार्यालय स्रोतकोे छ ।
भ्रष्टाचारको मुद्दामा साह निलम्बनमा परेका हुन्। तत्कालिन निमित्त प्रमुख साहले योजनाहरु ठेकेदारसंग बेचेर कमिशन कमाई रहेका हुन्। गाउँमा उपभोक्ता समिति बनाई काम गर्न लगाएको र त्यस वापत कार्यालयलाई आउने कमिशन उठाइरहेको सो स्रोतले दावी गरेको हो।
निलम्बीत प्रमुख साहले वीरगंजस्थित आफ्नो घरमा ठेकेदारहरुलाई बोलाएर फाइल मिलाउने काम गर्ने गरेको दावी रहेको छ। आर्थिक लेनदेन मिलेपछि लेखा प्रमुख मुकेश प्रजापतिलाई भुक्तानीको लागि लगाउने गरेको दावी श्रोतको रहेको छ। साहले कार्यालयको नाममा दर्ता रहेको ९८५५०४९५४१ नम्बरको मोबाईल आफैले चलाइरहेका छन्। कार्यालयको गाडी पनि प्रयोग गरिरहेका छन्।
हालका निमित्त प्रमुख रिम्पु कुमारी यादवलाई सहिछापको मात्र अधिकार दिएको दावी रहेको छ। निलम्बित कार्यालय प्रमुख साहले कार्यालयमा हुने सम्पूर्ण कामकाजको निर्णय अहिलेपनि आफैले गर्ने गरेको सो स्रोतको दाबी रहेको छ।
केहि दिन अघि बजेट माग गर्न कार्यालयका लेखा प्रमुख प्रजापतीलाई साथमा लिएर आफै जनकपुर पुगेका थिए। उनले बाराका केहि प्रदेश सभा सदस्यलाई आफ्नो प्रभावमा पारी अहिले जिल्लामा आर्थिक ताण्डव मच्चाएको श्रोतको दावी रहेको छ।
निलम्बनमा परेका कार्यालय प्रमुख साहले भने सबै आरोपहरु निराधार रहेको बताएका छन्। उनले आफ्नो व्यक्तिगत कामको लागि जनकपुर गएको दावी गरे। त्यही दिन बेलुकाको फ्लाईटले काठमाण्डौ पुगेको उनको भनाई रहेको छ।
कार्यालयको नाममा दर्ता रहेको नम्बरको मोबाइलबाट नै कुरा गर्दै अहिले कुनै पनि कार्यालयको सुविधा प्रयोग नगरेको उनले दावी गरे। लेखा प्रमुख मुकेश प्रजापतिले भने आफु नीति नियममा रहेर अहिलेका कार्यालय प्रमुख रिम्पु कुमारी यादवले भने अनुसारको काम गरिरहेको दावी गरे।
यता यस विषयमा बुझन निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादवलाई उनको मोबाईल नम्बर ९८४९१९५६०७ मा ३ पटक फोन गर्दा पनि उनले फोन उठाइनन् ।









