मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु, तीन जना घाइते

गढिमाइ खबर
37 पाठक संख्या

बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिवार साँझ करिब ६ः४५ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको द्यच्ण्छब्ँ ण्ज्ञद्धण् नम्बरको मोटरसाइकलले सोही दिशाबाट गइरहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा साइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी करिब ४० वर्षीय सबु मोहम्मद र साइकलमा सवार उनकी श्रीमती करिब ३७ वर्षीया रिजवना खातुन घाइते भएका थिए। टाउको र निधारमा चोट लागेका सबु मोहम्मदको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको अवस्थामा थप उपचारका लागि राति ९ः१० बजे नारायणी न्युरो अस्पताल, वीरगन्ज रिफर गरिएको छ।

त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएकी रिजवना खातुनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिएकोमा राति ७ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी बिगु महतोका करिब २५ वर्षीय छोरा अजय महतो र मोटरसाइकलमा सवार करिब २२ वर्षीय विवेक महतो पनि दुर्घटनामा घाइते भएका छन्। दुवैको टाउको, नाक र कानमा चोट लागेको छ। उनीहरूलाई प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि थप उपचारका लागि राति ७ः५० बजे नारायणी न्युरो अस्पताल, वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी कचोर्वा, बाराबाट प्रहरी हवल्दार शैलेन्द्र प्रसाद यादवको कमान्डमा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

साझा गर्नुहोस्