बारा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रेस युनियन अध्यक्ष लम्साल सर्वसम्मत

गढिमाइ खबर
174 पाठक संख्या

बारा । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बारा क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ। उहाँ खुला समूहअन्तर्गत सर्वसम्मत निर्वाचित हुनुभएको हो।

लम्सालले वि.सं. २०५१ सालदेखि नेपाल विद्यार्थी संघमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। उहाँ त्यतिबेला नेविसंघ बारा क्षेत्र नम्बर १ को अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो। विद्यार्थी राजनीतिका क्रममा उहाँले बारा, स्याङ्जा र मकवानपुर बहुमुखी क्याम्पसका नेविसंघ इकाइमा रहेर संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

राजनीतिसँगै पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएका लम्सालले नेपाल प्रेस युनियन काठमाडौं शाखाको सभापतिदेखि केन्द्रीय सचिव, महासचिव र सल्लाहकारसम्मका विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ हाल नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला गृहजिल्ला बाराको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुलाई लम्सालको राजनीतिक तथा संगठनात्मक यात्रासँग जोडेर हेरिएको छ।

साझा गर्नुहोस्