सुजित पाण्डेको मृत्यु प्रकरणपछि बारा प्रहरी प्रशासनमाथि प्रश्नैप्रश्न : ‘जिल्लामा नागरिकको सुरक्षा खोइ?’

गढिमाइ खबर
72 पाठक संख्या

बारा ।‎ युवा नेता सुजित पाण्डेको असामयिक मृत्यु प्रकरणलाई लिएर बारा जिल्लाका राजनीतिक दल, समाजसेवी, उद्योगी–व्यवसायी, युवा, विद्यार्थी तथा नागरिक समाज एकजुट भएर निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गर्दै सडकदेखि प्रशासनसम्म दबाब बढाउन थालेका छन्।

विभिन्न क्षेत्रका प्रतिनिधिहरूको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिले सुजितको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न मात्र होइन, पछिल्लो समय जिल्लामा कमजोर बन्दै गएको शान्ति–सुरक्षा अवस्थाप्रति समेत गम्भीर प्रश्न उठाएको छ।

‎संयुक्त विज्ञप्तिमा सुजित पाण्डेको असामयिक मृत्युले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै घटनापछि जिल्लामा गम्भीर चिन्ता र निराशाको वातावरण सिर्जना भएको जनाइएको छ।

विज्ञप्तिमा आम नागरिकमा बढ्दो डर, त्रास र असुरक्षाको भावना देखिन थालेको भन्दै जिल्लाको शान्ति–सुरक्षा कायम गर्न जिम्मेवार प्रहरी प्रशासनको भूमिकामाथि अप्रत्यक्ष रूपमा गम्भीर प्रश्न उठाइएको छ।

‎विज्ञप्तिमा सुजित पाण्डेको मृत्यु घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन तत्काल गर्न माग गरिएको छ। घटनासँग सम्बन्धित सम्पूर्ण तथ्य, प्रमाण तथा संलग्न पक्षहरूको गम्भीर अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गर्दै घटनाको स्पष्ट कारण आम नागरिकसमक्ष पारदर्शी रूपमा ल्याउनुपर्नेमा जोड दिइएको छ।

‎तर संयुक्त विज्ञप्तिले उठाएको विषय केवल एउटा मृत्यु प्रकरणमा सीमित छैन। विज्ञप्तिमा बारा जिल्लामा पछिल्लो समय देखिएका आपराधिक गतिविधि, हिंसा तथा असुरक्षाका घटनालाई तत्काल नियन्त्रण गर्न ठोस र प्रभावकारी कदम चाल्न प्रशासनसँग माग गरिएको छ।

यसले जिल्लामा शान्ति–सुरक्षाको अवस्था सामान्य छैन भन्ने संकेत मात्र होइन, अपराध नियन्त्रण र नागरिक सुरक्षाको जिम्मेवारीमा रहेको प्रहरी प्रशासनप्रति नागरिक तहको विश्वास कमजोर बन्दै गएको सन्देश समेत दिएको छ।

‎जिल्लामा एकपछि अर्को गम्भीर प्रकृतिका घटना सार्वजनिक भइरहँदा प्रहरी प्रशासनको सक्रियता र प्रभावकारितामाथि प्रश्न उठ्नु स्वाभाविक देखिएको सरोकारवालाहरू बताउँछन्। घटना भइसकेपछि अनुसन्धान गर्ने, दबाब बढेपछि मात्रै सक्रिय हुने र औपचारिक प्रतिक्रिया दिने प्रवृत्तिले नागरिकमा सुरक्षा निकायप्रतिको भरोसा कमजोर बन्दै गएको उनीहरूको आरोप छ।

‎संयुक्त विज्ञप्तिमा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न प्रशासनले आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने स्पष्ट माग गरिएको छ। सुजित पाण्डेको मृत्यु प्रकरणमा न्याय सुनिश्चित गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि माग गरिएको छ।

‎विज्ञप्तिमा यो अभियान कुनै व्यक्ति, राजनीतिक दल वा समुदायविरुद्ध लक्षित नभएको स्पष्ट पार्दै कानुनी शासन, नागरिक सुरक्षा र सत्यतथ्य स्थापित गर्न गरिएको साझा नागरिक खबरदारी भएको उल्लेख गरिएको छ। तर विज्ञप्तिमा जिल्लाको बढ्दो अपराध, हिंसा र असुरक्षालाई नियन्त्रण गर्न प्रशासन असफल बन्दै गएको संकेत स्पष्ट रूपमा देखिन्छ।

‎यसअघि पनि जिल्लामा भएका विभिन्न गम्भीर घटनामा प्रहरीको भूमिका र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठ्दै आएका बेला सुजित पाण्डेको मृत्यु प्रकरणले पुनः बारा प्रहरी प्रशासनलाई कठघरामा उभ्याएको छ। नागरिकको ज्यान गएपछि मात्र अनुसन्धान र सुरक्षा संयन्त्र सक्रिय हुने हो कि सम्भावित अपराध रोक्न प्रहरीसँग प्रभावकारी संयन्त्र पनि छ भन्ने प्रश्न अहिले आम रूपमा उठ्न थालेको छ।

‎सुजित पाण्डेको मृत्यु दुर्घटना, आपराधिक घटना वा अन्य कुनै कारणले भएको हो भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ। तर घटनाको वास्तविकता सार्वजनिक गर्न भइरहेको माग र विभिन्न क्षेत्रका प्रतिनिधिहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिले एउटा गम्भीर प्रश्न उठाएको छ।

बारा जिल्लामा आखिर नागरिक कति सुरक्षित छन्? अब प्रहरी प्रशासनले यो प्रश्नको जवाफ विज्ञप्ति र औपचारिक आश्वासनबाट दिने कि निष्पक्ष अनुसन्धान, प्रभावकारी अपराध नियन्त्रण र नागरिकलाई वास्तविक सुरक्षाको अनुभूति गराएर दिने हो, त्यो समयले देखाउनेछ।

साझा गर्नुहोस्