गोप्य भिडियो चुहाएको आरोपमा प्रहरी हवल्दार पक्राउ

गढिमाइ खबर
17 पाठक संख्या

कलैया । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानसँग जोडिएको संवेदनशील भिडियो सार्वजनिक भएपछि बारा प्रहरीले आफ्नै एक प्रहरी कर्मचारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई गोप्य भिडियो बाहिर पठाएको आरोपमा नियन्त्रणमा लिइएको हो।

कलैया प्रादेशिक अस्पतालअन्तर्गत लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा चिकित्सकले गरिमा हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय बालकसँग परामर्श तथा सोधपुछ गरिरहेको दृश्य आइतबार साँझ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। संवेदनशील प्रकृतिको उक्त भिडियो बाहिरिएपछि प्रहरीले त्यसको स्रोतबारे आन्तरिक अनुसन्धान थालेको थियो।

प्रहरीको प्रारम्भिक छानबिनबाट हवल्दार विकले उक्त भिडियो बाहिर पठाएको खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार विकविरुद्ध फौजदारी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइनेछ।

अनुसन्धानका क्रममा गोपनीयता कायम गर्नुपर्ने स्थानबाटै भिडियो बाहिरिएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको थियो। विशेषगरी नाबालकसँग सम्बन्धित संवेदनशील अनुसन्धान सामग्री सार्वजनिक भएपछि घटनाको अनुसन्धान, पीडितको गोपनीयता र बालकको अधिकार संरक्षणबारे समेत चासो बढेको छ।

सामाजिक सञ्जालमा फैलिएको भिडियोमा हतकडी लगाइएका बालकले चिकित्सकसँगको कुराकानीका क्रममा घटनामा आफूबाहेक अर्को साथीको समेत संलग्नता रहेको दाबी गरेको देखिन्छ। यसअघि अनुसन्धानका क्रममा भने उनले घटना आफूले मात्र गरेको बयान दिएको प्रहरीले जनाएको थियो।

भिडियो सार्वजनिक भएपछि बालकले पछिल्लो पटक गरेको दाबीको समेत अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको सम्भावित संलग्नता, भिडियोको वास्तविकता र अनुसन्धानमा प्राप्त अन्य प्रमाणलाई आधार बनाएर थप छानबिन अघि बढाउने जनाएको छ।

साझा गर्नुहोस्