पर्सामा खैरो हिरोइन र चरेससहित चार जना पक्राउ

गढिमाइ खबर
48 पाठक संख्या

बारा । जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट चेक प्वाइन्टमा भारतबाट नेपालतर्फ आउने पैदलयात्री तथा सवारीसाधनमाथि गरिएको विशेष चेकजाँचका क्रममा खैरो हिरोइन र चरेस बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा २६ वर्षीय पैयाल अन्सारी, ३४ वर्षीय संजय साह र २१ वर्षीय विशाल यादव रहेका छन् ।

प्रहरीले पैयाल अन्सारी र संजय साहको साथबाट ०.१० मिलिग्राम खैरो हिरोइन र ४ ग्राम चरेस बरामद गरेको जनाएको छ । त्यसपछि थप गरिएको जाँचका क्रममा संजय साहकै साथबाट ३ ग्राम ४२ मिलिग्राम खैरो हिरोइन फेला परेको थियो । त्यसैगरी, सोही अभियानअन्तर्गत विशाल यादवलाई ०.४३ मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सीमावर्ती नाकालाई लक्षित गर्दै प्रहरीले पछिल्लो समय चेकजाँच कडा बनाएको छ । पक्राउ परेका चारै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्