कलैया । लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान अन्तर्गत पर्सा प्रहरीले लागु औषध सहित आठ जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित चेकपोइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारी साधनमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हिरोइन, सेतो हिरोइन तथा प्रतिबन्धित ट्याब्लेट बरामद गरेको छ। पक्राउ पर्नेहरूमा विकास कुमार साह, कबिन पराजुली, सागर घिमिरे, पूजा जिम्बा, अन्जन थापा, रमेश बम्जन, राजु बानियाँ र अलिहदिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले एक विज्ञप्ति जारी गरी जनाएका छन्।
प्रहरीका अनुसार विकास कुमार साह र कबिन पराजुलीको साथबाट ६००–६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। सागर घिमिरे र पूजा जिम्बाको साथबाट ५ ग्राम खैरो हिरोइन तथा ०.२५ मिलिग्राम सेतो हिरोइन बरामद भएकोे छ।
अन्जन थापा र रमेश बम्जनको साथबाट ३ ग्राम ३७ मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। राजु बानियाँ र अलिहदिन मियाँको साथबाट ५३ पिस प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको छ। विकास कुमार साह र कबिन पराजुलीको साथबाट मधेश प्रदेश ०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण तथा कसूर ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।





