कलैया, १ बैशाख।
प्रसौनी गाउँपालिकाको प्रसौनी बजारमा ठेक्का अवधि सकिएपछि पनि अवैध रूपमा बिटौरी कर उठाइएको भन्दै स्थानीय किसान तथा व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन्।
सोमबार हाट बजार किसान संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता थियो।
प्रदर्शनकारीहरूले बजार क्षेत्रमा नाराबाजी गर्दै गाउँपालिका कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले कर असुलीका नाममा विगत १४ महिनादेखि उठाइएको रकम तत्काल फिर्ता गर्न र संलग्नमाथि कारबाही गर्न माग गरेका छन्।
संघर्ष समितिका प्रतिनिधि सुनिल कुमार गुप्ताका अनुसार आर्थिक वर्ष २०८०/०८१ को माघमै ठेक्का अवधि सकिए पनि नयाँ प्रक्रिया बिना नै कर असुली जारी राखिएको थियो। उनका अनुसार दैनिक २० देखि ५० रुपैयाँ र चाडपर्वमा १०० देखि २०० रुपैयाँसम्म जबरजस्ती उठाइएको छ।
स्थानीय व्यापारीहरूले पनि असुली प्रक्रिया अपारदर्शी रहेको र व्यापार भए–नभए पनि कर तिर्न बाध्य पारिएको गुनासो गरेका छन्। समस्या समाधान नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।
यता, प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले अवैध असुलीबारे जानकारी पाएपछि तत्काल रोक लगाइएको जनाउँदै छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गरिने बताएका छन्।









