कलैया १६ चैत/
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले संजय मिश्र विरुद्ध सामाजिक सञ्जालमार्फत गरिएको मानमर्दन तथा दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले २०८२ चैत १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार रातोपाटी डटकमका रौतहट संवाददाता मिश्रलाई फेसबुकमार्फत अपशब्द र असभ्य भाषा प्रयोग गरी गालीगलौज गरिएको हो।
उक्त दुर्व्यवहार प्रभु साह को नाममा बनाइएको “I Support Prabhu” नामक फेसबुक आइडीमार्फत भएको जनाइएको छ।
राजन साहले पार्टी परित्याग गरेको विषयमा समाचार लेखेको आरोपमा यस्तो व्यवहार गरिएको महासंघ रौतहट शाखाले जनाएको छ।
महासंघले समाचारप्रति असहमति भए प्रचलित कानुनी प्रक्रिया अपनाउन सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गरिएको मानमर्दनलाई प्रेस स्वतन्त्रतामाथि आक्रमण र पत्रकारको पेशागत मर्यादाविरुद्धको निन्दनीय कार्य ठहर गरेको छ।
यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ।
महासंघ मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’द्वारा जारी विज्ञप्तिमा पत्रकारमाथि हुने यस्ता गतिविधि रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।





