नेपालभर सट्टेबाजी एप र वेबसाइट बन्द, प्रयोग गरे कडा कारबाही हुने चेतावनी

गढिमाइ खबर
72 पाठक संख्या

‎‎गढीमाई डेस्क
कलैया, १५ चैत/
‎नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी (द्यभततष्लन) एप तथा वेबसाइटहरू बन्द गरेको छ। मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय कार्यान्वयनमा ल्याएको हो।
‎मन्त्रालयका अनुसार मिति २०८२ चैत १५ गते मन्त्रीस्तरीय निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी सट्टेबाजीसँग सम्बन्धित सबै एप र वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार हालसम्म पहिचान भएका सम्पूर्ण सट्टेबाजी प्लेटफर्महरू बन्द गरिसकिएको जनाइएको छ।
‎सरकारले सट्टेबाजीलाई गैरकानुनी गतिविधि भन्दै यसको प्रयोग तथा सञ्चालन नगर्न सबैलाई आग्रह गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) बमोजिम अनुसार सट्टेबाजी गर्नु वा गराउनु दुवै अपराध मानिन्छ। उक्त कानुन उल्लङ्घन गरेमा एक वर्षसम्म कैद, दश हजार रुपैयाँसम्म जरिवाना तथा प्रयोग भएको रकम जफत हुने व्यवस्था रहेको छ।
‎त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले पनि जुवा वा सट्टेबाजीसम्बन्धी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ। सो नियम विपरीत विज्ञापन गरेमा पनि कानुनअनुसार कारबाही हुने सरकारको चेतावनी छ।
‎मन्त्रालयले अनाधिकृत रूपमा सट्टेबाजी एप वा वेबसाइट सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही गरिने स्पष्ट पारेको छ। साथै, यस्ता गतिविधि भएको जानकारी प्राप्त भएमा नागरिकलाई सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरिएको छ।
‎यससम्बन्धी जानकारी दिनका लागि नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्य प्रसाद लामीछानेलाई सम्पर्क व्यक्ति तोकिएको छ।
‎सरकारले डिजिटल माध्यमबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न यो कदम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

साझा गर्नुहोस्