बारामा एसईईका लागि ३० परीक्षा केन्द्र, १० हजार ८ सय बढी विद्यार्थी सहभागी हुने

गढिमाइ खबर
34 पाठक संख्या

कलैया, १४ चैत/

बारा जिल्लामा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ३० वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। जिल्लाभरका १५५ विद्यालयका विद्यार्थीहरूले यी केन्द्रमार्फत परीक्षा दिने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई बाराका इकाइ प्रमुख अशोक कुमार रौनियारले शुक्रबार सूचना जारी गर्दै चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षाका लागि केन्द्र तोकिएको जानकारी दिएका हुन्।

उनका अनुसार यस वर्ष बाराबाट साधारण नियमिततर्फ ८ हजार ३ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। त्यसैगरी, २०८० र २०८१ का ग्रेड वृद्धितर्फ १ हजार ९ सय ३३ जना तथा २०७९ का ६६ जना परीक्षार्थी सहभागी हुनेछन्।

प्राविधिक धारतर्फ नियमित ३ सय ७५ जना र ग्रेड वृद्धितर्फ ६३ जना गरी ४ सय ३८ जना विद्यार्थी सहभागी हुनेछन्। यससँगै जिल्लामा कुल १० हजार ८ सय १३ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन्।

यस वर्ष एसईई परीक्षामा बाराका १०२ सामुदायिक तथा ५३ संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने जनाइएको छ।

परीक्षा सञ्चालनका लागि ३० केन्द्राध्यक्ष, ५८ सहायक केन्द्राध्यक्ष, ५२६ निरीक्षक, ९५ परीक्षा सहायक, २०० कार्यालय सहयोगी र ४५० सुरक्षाकर्मी गरी कुल १ हजार ३ सय ५९ जना जनशक्ति परिचालन गरिने इकाईले जनाएको छ।

शिक्षा विकास तथा समन्वय इकाई बाराले आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गरेको छ।

साझा गर्नुहोस्