आफनै साथीको हत्या गरेको आरोपमा पर्सा प्रहरीद्वारा तीन जना सार्वजनिक

गढिमाइ खबर
204 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

वीरगञ्ज : आफनै साथीको हत्या गरेको आरोपमा वीरगञ्जबाट पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पर्सा प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरि आफ्नै साथीको हत्या गरेको भन्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी बस्ने १९ वर्षका मुकेश प्रसाद यादव,सोही स्थान र उमेरका अरुण कुमार यादव र मुन्ना तिवारीलाई प्रहरीले सार्वजनिक गरेको हो।

बितेको आइतबार उदयपुर घुर्मी टोलकै १९ बर्षका इशाल प्रसाद कुर्मीको शव वीरगञ्ज महानगरपालिका–२८ स्थित भेडाहा खोलामा फेला परेको थियो। फाल्गुन ७ गते वीरगञ्ज काम गर्न जान्छु भनी घरबाट निस्केका कुर्मी घर नफर्केपछि उनका अभिभावकले खोजतलाश गरिदिन प्रहरीमा निवेदन दिएका थिए।

खोजतलासको क्रममा खोलामा कुर्मीको शव भेटिएको हो। यसपछि अनुसन्धान हुँदा घरबाट निस्केकै दिन पक्राउ परेका तिनैजना छिमेकी साथीहरू सहित तास खेल्दा उनको बादबिबाद भएको भनि खुलेको पर्सा प्रहरीले जनाएको छ।

विवादकै क्रममा पक्राउ परेका मुकेश,अरुण र मुन्ना मिलेर कुर्मीलाई कर्तव्य गरि मारेर भेडाहा खोलामा फालेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुबास भट्टले पत्रकार सम्मेलनमा जानकारी दिए।

घटनास्थलबाट मृतक कुर्मीको पर्स,मोबाइलको ग्लास,साइकल चप्पल पनि बरामद गरिएको भट्टले बताए।

पक्राउ परेका तिनैजनालाई ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साझा गर्नुहोस्