कलैया : बारा प्रहरीले ४३ किलो लागु औषध गाँजा सहित भारतीय कारलाई नियन्त्रणमा लिएको छ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गरी जिल्ला प्रहरी कार्यालय बाराले यसबारे जानकारी दिएको हो।
बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ हरिहरपुर स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्र.चौ.अमृतगंज खाजानी बाराबाट खटिएको संयुक्त गस्ति टोलीले सो गाँजा बरामद गरेको हो।
गस्ति गर्दै जाने क्रम्मा तेलकुवाबाट सिम्रौनगढ तर्फ जादै गरेको बिआर ०१ एयु ११०७ नम्बरको कार प्रहरीलाई देखी कार चालक तत्काल कार छाडी फरार भएका थिए।
शंकास्पद लागी उक्त कार जाँच गर्दा कार भित्र पाँच वटा पोकामा लुकाई छिपाई राखेको गाँजा बरामद भएको हो।
लागू औषध गाँजा बरामद गरी कारलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।









