वीरगञ्ज : वीरगञ्जको बजारमा सोमबार अनुगमन गरिएको छ। अनुगमनको क्रममा मिठाई पसलहरुमा फोहोर झिँगा भन्केको मिठाई बिक्री भईरहेको पाईएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जले सम्बन्धित निकायको सहयोगमा संयुक्त अनुगमन गरेको हो। मिठाईमा भिंmगा भन्किरहेको तथा फोहोरमा मिठाइ बनाईरहेको पाइएको हो।
मिठाईहरुमा म्याद सकिएका केमिकल र हाइड्रो पाउडर हालेर बनाइएका तथा धेरै दिनको बासी रसभरी,पेडा,बर्फी लगायतका मिठाईहरु फेला परेको छ। अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मिनाबजारको गणेश मिष्ठान भण्डार र वडा नम्बर १६ नगवामा रहेको जय हिमाल मिष्ठान भण्डारमा अनुगमन गरेको हो।
दुबै पसलहरुमा फोहोर र झिँगा भन्किएको मिठाईहरु भेटिएको थियो। मिठाई बनाउने भान्सा फोहोर रहेको र पसल बिना दर्ता नै सञ्चालन गरिएको अनुगमनको क्रममा पाइएको थियो। दुबै पसलेका सञ्चालकलाई ५० र २० हजार जरिवाना गरिएको थियो।
वीरगञ्ज–६ मिनाबजारको कृष्ण फ्रुट सप्लायर्स र ओम फ्रुट सप्लायर्समा अनुगमन गरिएको थियो। अनुगमनको क्रममा दुवै फ्रुट सप्लायर्समा भण्डारण गरिएका केरा पकाउन खान अयोग्य रसायन र फिटकिरी प्रयोग गरिएको पाइएको छ।
बिना दर्ता पसल सञ्चालन गरेको भेटिएको थियो। दुवै सप्लार्यसका सञ्चालकहरुलाई जनही ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाले जानकारी दिए।
चाडपर्वको मौका छोपि वीरगञ्जमा अखाद्य मिठाई तथा फलफूलमा रसायन हालेर बिक्री बितरण गर्ने प्रवृति बढेको तथा उपभोक्ता हित संरक्षण मञ्च पर्साको उजूरीको आधारमा बजार अनुगमन गरी कारवाही गरिएको मञ्चका पर्सा उपाध्यक्ष अजित भुजेलले साझेदारी दैनिकलाई जानकारी दिए।









