कलैया : श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसरमा सम्पन्न भएको छ।
मोतिसर चौकमा मुख्य कार्यालय रहेको श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार “बचत हाम्रो लागि,बचत परिवारको लागि,बचत समृद्धिको लागी“ भन्ने मूल नाराका साथ वर्षीय साधारणसभा गरेको हो।
कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड कलैयाका शाखा प्रबन्धक श्याम न्यौपानेले पानसमा बत्ती बाली साधारण सभाको उद्घाटन गरेका हुन्।
प्रमुख अतिथि न्यौपानेले जिल्लाको उत्कृष्ट सहकारी रहेको तथा बैंक सरह वित्तीय सेवा प्रदान जस्तै कियु.आर पेमेन्ट,मोबाइल बैकिङ्ग,क्नेक्ट आईपिएस जस्ता सेवा उपलब्ध गराएर सहकारीले उदाहरणीय काम गरेको बताए।
सहकारीले बचत तथा ऋणका लागि कार्य विधि बनाएर अगाडि संचालन गरेको सराहनीय कार्य गरेको उनको भनाइ थियो। सहकारीका सम्पूर्ण सेवा सदस्यहरुले एक सय रुपैयाँ देखि नियमित बचत गर्न समेत उनले आग्रह गरेका छन् ।
संस्थाका अध्यक्ष सद्दाम हुसेनको अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो।
सो कार्यक्रममा उत्कृष्ट बचतकर्ता मोतिसरका लक्षमिनिया तेलिन,पोषण कुमार साह,रामप्रसाद साह कानु,विवेक कुमार यादव,राजदेव प्रसाद यादव,उब मिया,बिनोद साह,कलैयाका रन्जु देवी तेलिन,निजामुदिन हवारी,शोभा साह कलवार,राजन प्रसाद कुशवाह,बिनोद साह,उमरावती देवी,रामलाल साह,जगतपुरका सुभाष कुमार कुशवाहा,जय प्रकाश प्रसाद पटेल,भतौडाका सोहन साह,पचायनपुरका सन्जु पण्डित,फेटाका सुनिल कुमार राउत र गजेन्द्र प्रसाद साह कानुलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ९५ लाख ३३ हजार ३३ रुपैयाँको कारोबार गरेको छ। गत आर्थिक वर्षमा १ करोड ५१ लाख १२ हजार ७ सय १३ रुपैयाँको कारोबार गरेको बताउदै वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष हुसेनले प्रस्तुत गरेका थिए ।
सहकारीले गत वर्षमा १ करोड २६ लाख ९१ हजार ४ सय ३ रुपैयाँ लगानी गरेको थियोे। आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ५९ लाख ३१ हजार २९ रुपैयाँ लगानी गरेको उनले जानकारी दिए ।
त्यस्तै सहकारीले ७४ लाख ४९ हजार १ सय ८६ रुपैया बचत गरेको थियो। आर्थिक वर्ष २०८०/०८१ मा १ करोड १५ लाख ९६ हजार ६ सय ४३ रुपैयाँ बचत गरेको छ ।
सहकारीमा हाल ७ सय ५० जना सदस्यहरु आबद्ध रहेको,ऋणी सदस्यहरुको बिमाको पनि व्यवस्था रहेको तथा ५ लाख देखि ९ लाख रुपैयाँ सम्म धितोमा लगानी गर्ने उनले बताए ।
सहकारीको मोबाइल बैकिङ्ग फोन पे अनलाइनबाट ग्राहकहरुले ३ महिनाको अन्तरालमा ६० लाख रुपैयाँको कारोबार गरेको समेत उनले बताए ।
सो साधारणसभाबाट सहकारीको संचालक समितिको अध्यक्षमा सद्दाम हुसेन मंसुर,उपाध्यक्ष श्रवन कुमार,सचिवमा कुदरत मिया,कोषाध्यक्षमा नाजिर हुसेन मिया,सदस्यमा अनवर मंसुर,सबुजन खातुन र अनिता देवी चयन भएका छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा श्रवन कुमार,सदस्यमा कुदरत मिया र नाजिर हुसेन चयन भएका हुन् ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वार्ड नम्बर –१८ का वार्ड अध्यक्ष ध्रुव राउत अहिर,पुर्व वार्ड अध्यक्ष अम्बिकाप्रसाद यादव,कलैया उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख महन्थ ठाकुर,शिवराज कानु,अनिल यादव,रोशन साह कानु,फेटा गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष नरेश पटेल,साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिसर प्रमुख परमानन्द चौरसिया,बिरेन्द्र यादव,गुलाब मिया हुसेन,शम्भु प्रसाद कानु,शुभ लक्ष्मी कृषि सहकारी लिमिटेडका प्रतिनिधि संदिप साह,सहकारीका कर्मचारी,समाजसेवी,बचतकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव कुदरत मियाले राखेका थिए। कार्यक्रमको संचालन मदन भण्डारी फाउन्डेसन बाराको जिल्ला अध्यक्ष रुष्तम अन्सारीले गरेका थिए।









