जगरनाथपुर गाउँपालिकामा भ्रष्टाचारको चाङ,नक्कली बिलबिजकबाट दोहोरो भुक्तानी देखाई १ करोड ५५ लाख झ्वाम

गढिमाइ खबर
164 पाठक संख्या पढ्न लाग्न समय 5 मिनेट
पढ्न लाग्न समय 5 मिनेट

पर्साको जगरनाथपुर गाउँपालिकामा भ्रष्टाचारको चाङ लागेको छ । सो गाउँपालिकामा ऐन कानुनको धज्जी उडाउँदै नक्कली बिलबिजक देखी किराना औषधीबाट भ्याक्सिन खरिद शिर्षकमा भुठा विवरणबाट करोडो रुपैयाँ अवैधानिक तरिकाले खर्च देखाई अनियमितता गरेको पाईएको छ ।

जगरनाथपुर गाउँपालिकाले एक÷दुई मात्र हैन् दर्जनौँ विभिन्न योजनामा अनियमितता गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा एउटै योजनाको दुई दुई पटक सम्म भुक्तानी गरी १ करोड २० लाख ८५ हजार रुपैयाँ अवैधानिक तरिकाले खर्च देखाईएको छ । जसलाई महालेखा परिक्षक कार्यालयको प्रतिवेदनले समेत औल्याएको छ ।

यस गाउँपालिकाले दुई निर्माण सेवालाई आर्थिक वर्ष २०७७÷७८ को भुक्तानी तथा आर्थिक वर्ष २०७८÷७९ को योजनाबाट सोनी निर्माण सेवा र मुस्कान सप्लायर्सलाई निर्माण कार्य, बोरिङ्ग खरिद तथा जडान खर्च, मसलन्द सामग्री लगायतको खर्च देखाई एकै रकम दोहोरो हुने गरि १ करोड २० लाख रुपैयाँ बढि अवैधानिक तरिकाले सकाएको छ ।

आर्थिक कार्य विधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ मा कुनै रकम भुक्तानी दिदा रित पुगे, नपुगेको जाँच गर्नुपर्ने र सार्वजनिक खरिद नियमावली,२०६४ को नियम १२३ मा सम्पन्न भएको कामको नापी किताबमा प्रमाणित भएको आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

तर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष जालिम मियाँ, उतिबेलाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र लेखा प्रमुख संजय पटेलको संयुक्त मिलेमतोमा ती दुई निर्माण सेवालाई एकै रकम दोहोरो भुक्तानी देखाई अनियमितता गरेको मलेपको प्रतिवेदनले पुष्टि गरेको छ ।

राजनितिक पहुँचमा सत्ता र शक्तिको केन्द्रमा रहने जालिम मियाँले उतिबेला माओवादी केन्द्रबाट निर्वाचित भई प्रशासकिय अधिकृत, लेखा प्रमुख लगायतको मिलोमतोमा विभिन्न अनियमितता तथा भ्रष्टाचारमा रेकर्ड नै बनाएका थिए । पछि निर्वाचनको मुखमा माओवादी केन्द्र छाडि केपी शर्मा ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गरेका थिए ।

यति मात्र होईन,सोही आर्थिक वर्षमा त्यसको अघिल्लो वर्षको फोटो कपी बिजकबाट २१ लाख बढि रुपैयाँ अवैध भुक्तानी लिएर अनियमितता गरेका छन् ।

उक्त अनियमिततामा समेत गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ,तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा,लेखा प्रमुख संजय पटेल लगायतको संयुक्त मिलेमतोमा आर्थिक वर्ष २०७७÷७८ मा भएको कार्यालय सम्बन्धी सामग्री,किताब छपाई लगायत विभिन्न छपाई सम्बन्धी कामको भुक्तानी बिलको फोटो कपी बिजक राखी आर्थिक वर्ष २०७८÷७९ को कात्तिक १४ गते सोही बिजकबाट २१ लाख बढि खर्च देखाएर हिनामिना गरेको मलेपको प्रतिवेदनले पुष्टि गरेको छ ।

सरकारी खर्चको भुक्तानी गर्दा रित पुगे नपुगेको यकिन गरेर मात्र खर्च गरिनुपर्ने व्यवस्था भए पनि गाउँपालिकाका तत्कालिन अधिकृत राज कुशवाहा र लेखा प्रमुख संजय पटेल लगायतकाले आर्थिक वर्ष २०७७÷०७८ मा भुक्तानी भएको बिलको फोटोकपी पेश गरेर सरकारी रकम दमपच गर्ने नियतले नै अवैधानिक तरिकाले २१ लाख बढिको फोटोकापी विजक बनाई पेश गरेको देखिन्छ जसलाई सिधा हिनामिना गरेको भन्न सकिन्छ ।
यसरी जगरनाथपुर गाउँपालिकामा विगतको वर्षमा योजना सम्पन्न भई भुक्तानी भएको बिलबिजकको फोटोकपी राखि एउटै योजनाको दोहोरो भुक्तानी देखाई आर्थिक वर्ष २०७८÷७९ मा एक करोड ४१ लाख बढि रुपैयाँ अवैधानिक तरिकाले भुक्तानी देखाई अनियमितता गरेको छन् । यस पालिकाले यति मात्र नभई किराना पसलबाट भ्याक्सिन खरिद समेत गरेका छन् यो हेर्नुहोस् ।

यस्तै,यस गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा किराना पसलबाट भ्याक्सिन खरिद गरिएको पाईएको छ । विभिन्न प्रकारका ठेक्कापट्टा गर्ने,विविध सामग्री कारोबार निर्माण, भवन निर्माण सामग्री,तथा हार्डवेयर समानको खुद्रा व्यापार गर्ने कारोबार गर्ने गरि दर्ता रहेको फर्महरुबाट भ्याक्सिन खरिद जस्तो विशेष भण्डारण गरि राख्नुपर्ने बस्तुको समेत किराना पसलबाट खरिद गरेको छ ।

जसलाई सिधा नियतले खरिद गरिएको भन्न मिल्दैन् । टेण्डर भई कार्यसम्पन्न भईसकेको सम्बन्धित विभिन्न योजनाहरुको भुक्तानी दिन बाँकी रकमबाट जय दुर्गा गहवामाई सप्लायर्स, महादुर्गा सप्लायर्स,तथा पुष्वि ट्रेडर्स सप्लायर्स आपूर्तिकर्ताबाट १४ लाख बढिको भ्याक्सिन खरिद देखाई यसमा समेत अनियमितता गरेको सजिलै बुझन गाह्रो नपर्ला । खरिद गरिएको भ्याक्सिन समेत उपयोग नगरेकाले मलेपको कार्यालयले सो खर्च रकम सिधै असुल गर्नुपर्ने भनेको छ ।

यस विषयमा जगरनाथपुर गाउँपलिकाका अध्यक्ष श्रीकान्त यादवले पहिलाको जनप्रतिनिधीको पालामा महा भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनले विगतका जनप्रतिनिधीले गैर जिम्मेवारी तरिकाले अनियमितता गरि महापाप गरेको प्रतिक्रिया दिएका छन् । जानीजानी गलत नियतले काम नगरिकन खर्च देखाई अनियमितता गरिएको अध्यक्ष यादवको भनाई छ ।

जगरनाथपुर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष जालिम मियाँले त्यस्तो कुनै अवैधानिक तरिकाले कार्य नभएको बताए । फोटोकपी बिल बिजकबाट दोहोरो भुक्तानी जस्तो कार्य नभएको बताउँदै मलेपको कार्यालयले पैसाको लागि त्यस्तो लेखेको हुन सक्ने प्रतिक्रिया दिए ।

गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई पटक पटक फोन गर्दा उनी सम्पर्कमा आएनन् ।

स्थानीय सरकार खासमा स्थानीयको सेवा सुविधा तथा सुधारका लागी ल्याइएपनि यहि स्थानीय सरकार अहिले कमाई खाने बाटो बनेको छ । यस जगरनाथपुर गाऊँपालिकामा देखिएको भ्रष्टाचारको विषयमा अख्तियार सम्बध कार्यालयले छानविन गरोस् ।

साझा गर्नुहोस्