महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छः प्रधानमन्त्री दाहाल

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले महिला सशक्तिकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले महिलाको प्रजनन स्वास्थ, शिक्षामा सुधार हँुदै गएको, सूचना प्रविधिलाई महिलामैत्री बनाउने र विदेशमा काम गर्न गएका महिलालाई सुरक्षित वातावरण बनाउने र समस्या भएमा सरकारले सहयोग गर्ने बताउनुभयो ।

“संविधान र कानुनले महिलाको हक अधिकारका लागि एतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तहदेखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उहाँले भन्नुभयो, “महिलालाई राजनीति, सामाजिक र आर्थिक अधिकारमा समानरूपले अघि बढेको छ ।”

प्रधानमन्त्री दाहालले संविधानले महिलाको हकलाई मौलिक हकमै व्यवस्था गरेको भन्दै नीतिगत, कानुनी र संरचना सुधार हुँदै आएको बताउनुभयो । महिलाले शारीरिक रूपमा गर्न सक्दैन भन्ने कुरालाई महिलाले जनआन्दोलनदेखि आफ्नो क्षमता देखाएको उहाँले स्मरण गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकता, सङ्घर्ष र विजयको प्रतिकका रूपमा मनाउँदै आएको र महिलाको सम्मानजनक जीवनयापन गर्नका लागि राज्यले अधिकतम प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले संविधान र कानुनमा व्यवस्था भए पनि पैतृक सम्पत्तिमा व्यवहारिक रूपमा अघि बढाउन नसक्नु चुनौतीपूर्ण बनेको बताउनुभयो ।

मन्त्री शर्माले पछिल्लो समयमा तीव्ररूपमा सूचना प्रविधिको विकास भए पनि त्यसको महिलाले सही रूपमा प्रयोग हुन नसकेको र प्रविधि महिलामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले महिला अधिकारको बहुआयामिक क्षेत्रबाट अध्ययन गरी महिलाविरूद्धका घटनाको उजुरी लिने, अनुगमन गर्ने र दोषीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले आयोगले महिलाको हक, अधिकारको रक्षा गर्ने काम गरिरहेको बताउनुभयो । महिला मन्त्रालयका विज्ञ सदस्य सविन श्रेष्ठले ‘नेपालमा लैङ्गिक समानताको यात्रा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यपत्रमा परराष्ट, न्याय, सुरक्षाको क्षेत्रमा महिलाको सहभागिता बढदै गएको उल्लेख छ । कार्यक्रममा शक्ति समूहको तर्फबाट हरेक क्षेत्रमा महिलाले काम गर्न सक्छन् भन्ने सन्देशमूलक नृत्य प्रस्तुत गरिएको थियोे ।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहको छ । रासस

ट्यागहरू :
साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *