रञ्जन यादब/
नक्कली अभिभावाक खडा गरेर बारा स्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटनामा छानबिन सुरु भएको छ ।
वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका-१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट ३३-०२-०७९-००५१३ नं.को नागरिकता लिएको देखिएको छ ।
राईलाई जन्मदर्ता र नागरिकता बनाउन वडा सचिव शुभचन्द्र महतो र वडाध्यक्ष ज्ञानबहादुर गोलेले सिफारिस गरेका थिए ।
निजगढ नगरपालिका वडा नं १२ रतनपुरका स्थानीय युवक मोक्तानले भारतीय महिलालाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको लागि प्रशासनले चासो नदेखाएको कारबाहीको लागि ज्ञापनपत्र बुझाएको बताउँनुभयो ।
नक्कली अभिभावक खडा गरेर नागरिकता लिने भारतीय महिला रजनी राई र गोले परिवारलाई प्रहरीले खोजी सुरु गरेको छ ।
नक्कली विवरण भरिएको अनुसूची फारमसहित निजगढ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले जेठ २४ गते ईलाका प्रशासन कार्यालयलाई नागरिकताका लागि सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा ईलाका प्रशासन कार्यालयले रजनीलाई असार १ गते नागरिकता दिएको हो ।
वडाध्यक्ष गोलेले नक्कली अभिभावक र झुटो विवरणको विषयमा आफूलाई जानकारी नभएकाले चिनजानको हिसाबले विश्वासका आधारमा सिफारिस दिएको बताएका छन् ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले स्थानीय प्रशासनले जारी गरेको नागरिकता बदरका लागि गृह मन्त्रालयमा जानकारी गराइसकेको बताउँनुभयो ।
असार १ गते नागरिकता प्राप्त गरेकी रजनीलाई हाजिर हुन प्रशासनले पत्र काटे पनि उनी सम्पर्कविहीन भएपछि वडाध्यक्ष र अभिभावकको नाममा अर्को पत्र काटेको थियो ।
रजनीका नक्कली अभिभावक समेत हाल सम्पर्कमा नरहेको ईलाका प्रशासन कार्यालय सिमराले जनाएको छ । राईको जन्म मिति २०५८-११-१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ ।
जुन जन्मदर्ता मिती २०७९-०२-२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ ।
झुटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ-१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ ।