पचरौता नगरपालिकाले ८ महिनासम्म रोक्यो सूचनाको बिल, ५० प्रतिशत कमिसन मागेको आरोप

गढिमाइ खबर
32 पाठक संख्या

‎कलैया । बाराको ‎पचरौता नगरपालिकामाथि सूचना प्रकाशन गरेबापतको वैधानिक बिल आठ महिनासम्म पनि भुक्तानी नगरेको गम्भीर आरोप लागेको छ। ‎साझेदारी दैनिकका सम्पादक श्यामबाबु प्रसाद यादवले नगरपालिकाको शिक्षा शाखासँग सम्बन्धित प्रक्रियामा कमिसन नदिँदा भुक्तानी रोकिएको दाबी गरेका छन्।

‎सम्पादक यादवका अनुसार पचरौता नगरपालिकाले २०८२ साल असोज २८ गते करारमा शिक्षक आवश्यकता सम्बन्धी सूचना तथा २०८२ साल असोज ३० गते नगर अनुदानबाट सेवा करारमा स्वयंसेवक शिक्षक माग सम्बन्धी सूचना साझेदारी दैनिकमा प्रकाशित गराएको थियो।

‎पत्रिकाले प्रकाशन गरेकाे करारमा शिक्षक आवश्यकता सम्बन्धी सूचनामा शुल्कमा ४० प्रतिशतसम्म छुट दिएको र २०८२ साल मंसिर ५ गते वैधानिक बिल जारी गरिसकेको भए पनि हालसम्म रकम भुक्तानी नभएको उनको भनाइ छ।

‎ त्यसैगरी २०८२ साल असोज ३० गते नगर अनुदानबाट सेवा करारमा स्वयंसेवक शिक्षक माग सम्बन्धी सूचनाकाे शुल्कमा ४० प्रतिशतसम्म छुट दिएको र २०८२ साल मंसिर ७ गते वैधानिक बिल जारी गरिसकेको भए पनि हालसम्म रकम भुक्तानी नभएको यादवले बताए ।

‎यादवले नगरपालिकाको शिक्षा शाखामा कार्यरत तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौलीका लेखापाल मुकेश सिंहले पत्रिकाको बिल भुक्तानी गर्न ५० प्रतिशत कमिसन मागेको र उक्त कमिसन नदिएपछि भुक्तानी रोकिएको आरोप लगाएका छन्। उनले यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

‎यदि यस्तो आरोप सत्य प्रमाणित भए, सूचना प्रकाशन गराएर वैधानिक बिलको भुक्तानी रोक्नु तथा कमिसनको माग गर्नु सार्वजनिक प्रशासनको पारदर्शिता, सुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने विषय हुने सरोकारवालाको भनाइ छ।

‎सम्पादक यादवले अब यस विषयलाई सम्बन्धित निकायमा औपचारिक रूपमा उठाई कानुनी तथा प्रशासनिक प्रक्रियामार्फत सत्यतथ्य बाहिर ल्याइने बताएका छन्। उनले सार्वजनिक सूचना प्रकाशन गराउने सञ्चारमाध्यमको श्रमको सम्मान गर्दै वैधानिक बिल तत्काल भुक्तानी गर्न तथा दोषी भए जिम्मेवार व्यक्तिमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

साझा गर्नुहोस्