कलैया,विभिन्न प्रशासनिक चुनौती, ढिलो सेवा प्रवाह, विकास आयोजनाको सुस्त कार्यान्वयन तथा नागरिक गुनासोका बीच लामो समयको पछि कलैया उपमहानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ। नेपाल सरकारका सहसचिव रेशमलाल कडेलले बुधबार प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गर्नुभएको हो।
पछिल्ला वर्षहरूमा उपमहानगरपालिकामा विकास निर्माणका केही योजना समयमै सम्पन्न हुन नसकेको, सेवा प्रवाहमा ढिलासुस्ती देखिएको तथा प्रशासनिक कार्यसम्पादनप्रति स्थानीयवासीले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। नगरवासीले पटक–पटक पारदर्शिता, जवाफदेहिता र प्रभावकारी प्रशासनको माग गरे पनि अपेक्षाअनुसार सुधार हुन नसकेको गुनासो सुनिँदै आएको छ।
यही पृष्ठभूमिमा पदभार ग्रहण गर्नुभएका कडेलमाथि उपमहानगरपालिकाको प्रशासनिक छवि सुधार्ने चुनौती थपिएको छ। नगर प्रमुख विनोद साहले खाँदा माला लगाई स्वागत गदै विकास निर्माण, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा व्यक्त गर्नुभयो। तर विगतमा पनि यस्तै प्रतिबद्धता दोहोरिए तापनि त्यसको प्रत्यक्ष परिणाम नागरिकले पर्याप्त रूपमा अनुभूति गर्न नसकेको टिप्पणी स्थानीय स्तरमा हुने गरेको छ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत कडेलले इमान्दार, उत्तरदायी र जनमुखी प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। तर नागरिकको चासो भने प्रतिबद्धताभन्दा पनि व्यवहारिक कार्यान्वयनमा केन्द्रित रहेको देखिन्छ।
अब उपमहानगरपालिकाको प्रशासनिक सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनमा कडेलको नेतृत्व कति सफल हुन्छ भन्ने विषय आगामी दिनमा परीक्षणको विषय बनेकाे सराेकारवालाहरू बताउछन् ।





