पन्ना देवी विद्यालयमा एसईई परीक्षामा तीन वर्षमा २२ जना मात्रै उत्तीर्ण

गढिमाइ खबर
53 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका -५ स्थित श्री पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा पछिल्ला तीन वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाले विद्यालयको शैक्षिक अवस्था कमजोर देखिएको छ । तीन वर्षको अवधिमा विद्यालयबाट जम्मा २२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

विद्यालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०८० मा एसईईमा सहभागी ४६ विद्यार्थीमध्ये १ जना मात्रै उत्तीर्ण भएका थिए । त्यसपछि २०८१ मा ४१ जनामध्ये ६ जना पास भए भने यस वर्ष २०८२ मा ३४ जना सहभागीमध्ये १५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । लगातार कमजोर नतिजा आइरहेको अवस्थामा यस वर्ष भने केही सुधार देखिएको विद्यालयले जनाएको छ ।

यस वर्ष विद्यालयबाट हरि नारायण चौधरीले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन् । त्यसैगरी प्रीति कुमारी यादव, मोनिका कुशवाहा, सोनालिका दास, प्रीति कुमारी यादव, सोनी यादव र मुस्कान गिरिले ‘ए’ ग्रेड हासिल गरेका विद्यालयले जनाएको छ । बाँकी विद्यार्थी अन्य ग्रेडमा उत्तीर्ण भएका छन् ।

यता विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार गिरिले विगत दुई वर्ष विद्यालयको नतिजा अत्यन्त कमजोर रहेको स्वीकार गर्दै यस वर्ष शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारको अथक मेहनतका कारण नतिजामा केही सुधार ल्याउन सफल भएको बताएका छन् ।

स्थानीय अभिभावकका अनुसार नरेन्द्र कुमार गिरि विद्यालयमा आएयता पठनपाठन, शैक्षिक, अनुशासन र परीक्षाको नतिजामा सुधार देखिन थालेको छ । बिद्यालयको लगातार कमजोर नतिजा आउनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने स्थानीय अभिभावकहरुले बताएका छन् ।

प्रधानाध्यापक गिरि गत भदौ १८ गते विद्यालयमा हाजिर भएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डलको कार्यकाल भने गत चैतमै समाप्त भइसकेको छ ।

साझा गर्नुहोस्