कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी ले बारा जिल्ला समिति विघटन गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश समितिको सिफारिसका आधारमा समिति विघटन गर्ने निर्णय गरेको जनाएको हो।
पार्टी प्रवक्ता मनिष झा का अनुसार अब बारा जिल्लामा नयाँ नेतृत्व चयनका लागि जिल्ला अधिवेशनमार्फत संगठन पुनर्गठन गरिनेछ। रास्वपाले आगामी जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशन गर्ने निर्णय गरिसकेको छ।
बैठकले बारा जिल्लाको संगठन सम्हाल्ने जिम्मेवारी चारवटै निर्वाचन क्षेत्रका निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेश समन्वय समिति तथा संगठन विभागकी केन्द्रीय प्रतिनिधि कामिनी चौधरी लाई दिएको छ।
यस्तै, पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता खारेज गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता झाले जानकारी दिएका छन्।
उता, जिल्ला समिति विघटन र जिल्ला सभापति चन्दन स्वर्णकार माथिको कारबाहीको विरोधमा कलैयाको भरत चोकमा रास्वपाका कार्यकर्ता तथा युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले “चन्दन स्वर्णकारलाई न्याय दे”, “पार्टीभित्रको गुटबन्दी अन्त्य गर” तथा “अन्यायपूर्ण निर्णय फिर्ता गर” जस्ता नारासहित विरोध जनाएका थिए। प्रदर्शनमा सहभागीहरूले स्वर्णकारमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेका छन्।
यसअघि वैशाख २ गते पार्टीको अनुशासन आयोगले स्वर्णकारमाथि थप अनुसन्धान आवश्यक रहेको निष्कर्षसहित उनलाई पार्टी जिम्मेवारीमा रहँदा कुनै गतिविधि नगर्न निर्देशन दिएको थियो। उक्त निर्णयसम्बन्धी पत्र भने वैशाख १५ गते सार्वजनिक गरिएको थियो।





