नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ। विशेषगरी वीरगन्ज नाकाबाट हुने आयातमा उल्लेखनीय वृद्धि देखिएको छ, जसले हरित ऊर्जातर्फको झुकावलाई संकेत गर्दछ।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाका हुँदै चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको कुल मूल्य करिब एक अर्ब ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ। यसबाट मात्र राज्यले ९६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा विद्युतीय सवारी आयातमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो वर्ष यही अवधिमा केवल एक सय ६५ वटा विद्युतीय सवारी आयात भएका थिए, जसको मूल्य ४३ करोड एक लाख रुपैयाँ मात्र थियो।
वीरगन्ज भन्सार कार्यालयका अनुसार विद्युतीय मोटरसाइकलको आयात पनि उल्लेख्य रहेको छ। चालु आवमा सात महिनाभित्र एक हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्, जसको मूल्य ८० करोड ५७ लाख रुपैयाँ बराबर छ।
यद्यपि, इन्धनबाट चल्ने सवारीसाधनको आयात भने अझै पनि उच्च रहेको छ। सो अवधिमा छ सय नौ वटा पेट्रोल तथा डिजेल सवारीसाधन आयात हुँदा एक अर्ब १६ करोडभन्दा बढी मूल्य बराबरको कारोबार भएको छ। यस्ता सवारीबाट मात्र दुई अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
समग्रमा, चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाका हुँदै २३ अर्ब ५७ करोड रुपैयाँ बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्, जसले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि देखाएको छ।
विशेषज्ञहरूका अनुसार विद्युतीय सवारीको बढ्दो प्रयोगले दीर्घकालमा इन्धन आयात घटाउने, वातावरणीय प्रदूषण कम गर्ने र आर्थिक बचतमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।





