पूर्वाधार योजनामा अनियमितता नगर्न चेतावनी, तरुण दल बाराद्वारा ज्ञापन पेश

गढिमाइ खबर
217 पाठक संख्या

कलैया, १६ चैत /
‎नेपाल तरुण दल बारा जिल्लाले पूर्वाधार विकास कार्यालय, कलैयामा ज्ञापन पत्र बुझाउँदै आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुने सबै विकास योजनाहरू कानुन र मापदण्डअनुसार पारदर्शी रूपमा कार्यान्वयन गर्न माग गरेको छ।

जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको नेतृत्वमा पेश गरिएको ज्ञापनमा स्वीकृत कार्यक्रमअन्तर्गतका कुनै पनि योजना सम्बन्धित निकायमार्फत मात्र सञ्चालन गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ। साथै, योजना खरिद–बिक्रीजस्ता अनियमित गतिविधि नगर्न तथा नगराउन सरोकारवालालाई सचेत गराइएको छ।

तरुण दलले सम्पन्न भइसकेका योजनाहरूको भुक्तानी पनि वास्तविक कामको आधारमा मात्र गर्नुपर्नेमा जोड दिएको छ। बिल, भरपाई तथा आवश्यक कागजात पूरा भएपश्चात् मात्र भुक्तानी प्रक्रिया अघि बढाउनुपर्ने माग ज्ञापनमा समावेश गरिएको छ।

‎कार्यालयमार्फत जारी सन्देशमा सम्पूर्ण निकाय र व्यक्तिहरूलाई प्रचलित नियम–कानुनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

‎उक्त ज्ञापनको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय बारा, भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधाम तथा अर्थ मन्त्रालय जनकपुरधाममा समेत पठाइएको जनाइएको छ।

साझा गर्नुहोस्