वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन भनिएको छ।
अस्पताल प्रशासनलाई यस सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्देशन दिएका हुन्। मन्त्री पौडेल यहाँ विरामीको अनुगमन गर्न आएका हुन्। उनले अनुगमन तथा निरीक्षणको क्रममा अस्पतालले बिरामीको उचित ढङ्गले उपचार गर्नुपर्ने बताएका हुन्।
विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलले भ्याउने खालको औषधिले नपुगे थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि निःशुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्न उनले भने। झाडापखाला र हैजाको परीक्षण गर्दा कुनै प्रकारको शुल्क नलिनको लागि उनले आग्रह गरेका हुन्। कुनै पनि हालतमा औषधिको अभाव हुन नदिन तथा जनशक्तिको अभाव हुन नदिन उनले आग्रह गरे।
वीरगञ्जका निजी अस्पताललाई बिरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपचारमा सहयोगका लागि उनले आग्रह गरे। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले नारायणी अस्पताललाई प्रदेश सरकारले विभिन्न थरिका औषधि उपलब्ध गराउँदै आइरहेको जानकारी दिदैे समस्या परेका बेला मात्र तात्ने नभइ जुनसुकै बेला समस्या आउनसक्छ भन्ने सोचेर काम गर्न उनले आग्रह गरे।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरण गर्न आग्रह गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले समेत उक्त अवसरमा अस्पतालको अनुगमन गरेका हुन्।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेट (मेसु) चुमनलाल दासले अस्पतालमा हाल ४८ जना झाडापखला र हैजाका बिरामीको उपचार भइरहेको जानकारी दिदै दुई जनाको आकस्मिक कक्षमा र अन्यको तीन वटा वार्डमा उपचार भइरहेको जनाए।स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले झाडापखला र हैजाका गरी दुई सय ५४ जना बिरामीको सङ्ख्या दर्ता भएको जानकारी दिए।
एक सय तीन जना बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। २२ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना बिरामी ‘एचसियु’मा उपचाररत छन। अन्य बिरामी जनरल वार्डमा छन्। आइसियुमा रहेका २२ मध्ये २० जना निजी अस्पतालमा छन्। दुई जना नारायणी अस्पतालमा छन् । एक सय २४ जना बिरामी उपचार गरेर घर फर्केको ठाकुरले जानकारी दिए।









