पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

गढिमाइ खबर
89 पाठक संख्या

गढीमाईखबर डेस्क
कलैया, १५ चैत/
जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का लाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

आज बिहान पक्राउ परेका नेता खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठ का अनुसार अदालतले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम आजदेखि लागू हुने गरी ७ दिनको म्याद थपको अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका खड्काको प्रारम्भिक बयान सुरु भए पनि प्रमाण संकलन तथा थप बयान लिन बाँकी रहेकाले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिइएको अदालतले जनाएको छ।

अदालतको आदेशमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पेश गरेको आधार मनासिव देखिएकाले प्रतिवादीलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य सम्पन्न गर्न अनुमति प्रदान गरिएको उल्लेख गरिएको छ।

यसैबीच, खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान गरिरहेको छ। विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा तथा वरपरबाट खरानी समेत सङ्कलन गरेको जनाएको छ।

साझा गर्नुहोस्