श्यामबाबु यादव
बारा १८ माघ/
बारा जिल्लाको कलैयामा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई लक्षित गर्दै खुलेआम अवैध असुली गर्ने गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। कलैया–बरियारपुर सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनियामा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान र सहायक हवल्दारले विभिन्न बहानामा सवारी चालकबाट रकम असुली गर्ने गरेको स्थानीय तथा चालकहरूले बताएका छन्।
स्थानीयका अनुसार उक्त अस्थायी ट्राफिक पोस्टमा कार्यरत ट्राफिक जवान निरज कुमार साह, सुशील कुमार यादव र सहायक हवल्दार रितेश पटेलले भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा सवारी साधनलाई रोकी प्रति सवारी २०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म रकम असुली गरी छोड्ने गरेको आरोप छ।
सवारी चालकहरूले ब्लुबुक, लाइसेन्स तथा मादक पदार्थ सेवन (मापसे) चेकिङको नाममा डर देखाई अवैध असुली गरिने गरेको गुनासो गरेका छन्। चालकहरूका अनुसार ट्राफिक प्रहरीले ठूलो जरिवानाको त्रास देखाउँदै नगद रकम माग्ने गर्छन्, तर असुली गरिएको रकमको कुनै बिल वा रसिद दिइँदैन।
स्थानीय प्रत्यक्षदर्शीहरू भन्छन्, “साँझपख पैसा उठ्ने सम्भावना देखिएको सवारीलाई मात्र ट्राफिकले रोकेको देखिन्छ। नियम उल्लङ्घनभन्दा पनि रकम असुली नै प्राथमिकता बनेको छ।”
दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनभन्दा अवैध असुलीमा केन्द्रित हुँदा मुख्य शहर क्षेत्र मात्र होइन, ग्रामीण भेगको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बन्दै गएको स्थानीयको आरोप छ। बारामा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिँदै सवारी चालकबाट पैसा उठाउने गरेको आरोप यसअघि पनि पटक–पटक लाग्दै आएको छ।
यसैगरी, ट्र्याक्टर र ट्रकमा ओभरलोड सिमेन्ट तथा रड, साथै म्याजिक भ्यानबाट समेत अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले रकम लिने गरेको आरोप स्थानीयले लगाएका छन्।
यस विषयमा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक जितेन्द्र मण्डलसँग प्रतिक्रिया लिन खोज्दा उनले असन्तुष्ट भावमा कुरा गर्दै प्रतिक्रिया दिन अस्वीकार गरे। “ठिक छ, तपाईं आफ्नो तरिकाले गर्नुहोस्,” भन्दै उनले फोन काटेका थिए।









