बारामा जोखिम बढ्दै, यात्रामा ननिस्कन प्रशासनको निर्देशन

गढिमाइ खबर
336 पाठक संख्या पढ्न लाग्न समय 4 मिनेट
पढ्न लाग्न समय 4 मिनेट

बारा : भारी तथा मध्यम वर्षा भइरहेकोले पूर्व सावधानी अपनाउन बाराका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले नागरिकलाई शनिबार एक विज्ञप्ति मार्फत यस्तो आग्रह गरेका हुन्।

जल तथा मौसम विज्ञान विभागबाट मौसम एवं हावापानीको पूर्वानुमान भए बमोजिम मुलुकभर वर्षा भइरहेको र बारा जिल्लामा पनि यसको प्रभाव पर्ने क्रम देखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। मध्यम देखि भारी वर्षा हुने सम्भावना (पूर्वानुमान) रहेकोले ठूलो वर्षातका कारण डुबान, बाढी पहिरो जस्ता विपदजन्य घटनाबाट धनजनको क्षति हुन नदिन (असोज १८ गते देखि २० गते सम्म) पूर्व सावधानी अपनाउनु हुन उनले अनुरोध गरेका हुन्।

असोज १८ गते देखि वर्षा हुन सुरु भएको र असोज २० गतेसम्म भारी वर्षातको संभावना पूर्वानुमान रहेको छ। यसले अत्यावश्यक काम परेकोमा बाहेक सुरक्षित रुपमा आफू बसोबास गरिरहेको स्थानमा बस्नु हुन र यात्रामा ननिस्किनु हुन अनुरोध गरिएको छ। रात्रीको समयमा पहाडी भूभागमा पहिरो आई सडक अवरुद्ध हुन सक्ने एवं तराई भूभागमा बाढीको कारण यात्रा अवरोध हुन सक्ने र धनजनको क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै लामो दूरीका सवारी साधनहरु नचलाउनु हुन अनुरोध गरिएको छ।

रात्रीको समयमा बारा जिल्लाका विभिन्न स्थानवाट काठमाडौं लगायतका स्थानमा चल्ने सवारी साधन (सार्वजनिक यात्रुबाहक साधन वस, जीप, ईभि, टाटा सुमो समेत र निजी सवारी साधन जीप, कार, मोटरसाईकल, मालबाहक सवारी साधन नचलाउनु हुन यात्रुवाहक सावरी साधनमा टिकट नकाट्नु हुन अनुरोध गरिएको छ। यस व्यवस्थाको लागि ट्राफिक प्रहरी, नेपाल प्रहरीका राजमार्ग किनारका ईकाइहरुले अनुगमन, निरीक्षण गरी कार्यान्वयन गर्नु गराउनु हुन उनले अनुरोध गरेका छन्।

वर्षातको जोखिम भएका अति जरुरी अवस्थामा सार्वजनिक सवारी साधनमा दिउँसोको समयमा मात्र यात्रा गर्ने, यात्रुको नाम, ठेगाना र सम्पर्क नम्बर यातायात व्यवसायीले ट्राफिक प्रहरीलाई उपलब्ध गराउनु हुन र निजी सवारी साधनको हकमा राजमार्ग किनारको प्रहरी इकाईमा टिपाउनु हुन समेत आग्रह गरिएको छ। वर्षातको कारण हुन सक्ने डुबान, बाढी पहिरो जस्ता विपदजन्य घटनाबाट हुने न्यूनिकरण गर्न जिल्ला स्थित सुरक्षा निकायको जनशक्ति र राहत उद्दारमा खटिदा आवश्यक पर्ने सामग्री तयारी अवस्थामा राखिएको उनले जनाएका हुन्।

स्थानीय तहहरुले आफूसँग भएको विपद्जन्य घटना उद्दार कार्यमा आवश्यक पर्ने सामग्री नजिकको प्रहरी इकाईमा उपलब्ध गराउनु हुन वा तयारी अवस्थामा राखी सोको विवरण नजिकको प्रहरी इकाईमा उपलब्ध गराईदिनुहुन समेत उनले भनेका छन्। विपदजन्य घटनाबाट हुने क्षति न्यून गर्न खोला नदी एवं ढल नजिकका वस्ती एवं डुवान हुन सक्ने भनी नक्साङ्कन पूर्वानुमान गरिएका वस्तीका वासिन्दाले विशेष सुरक्षा सावधानी अपनाउनु हुन साथै सम्भव भएसम्म स्थानीय तहले यस्ता वस्तीलाई उल्लेखित अवधिका लागि अन्यत्र स्थानान्तरण गर्ने व्यवस्था मिलाउनु हुन समेत उनले भनेका छन्।

सडक डिभिजन कार्यालय, स्थानीय तहहरुले आ–आफ्नो डोजर एक्साभेटर लगायतका उपकरण इन्धन सहित सुरक्षा निकायले राहत र उद्दारको कामका लागि खोजेको बखत सुरक्षा निकायलाई उपलब्ध गराउने गरी तयारी अवस्थामा राख्न भनिएको छ। पूर्व तयारी र प्रतिकार्यमा सहयोग गर्ने सबै साँझेदार संस्थाहरु जिल्ला विपद व्यवस्थापन समिति तथा स्थानीय विपद व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क अवस्थामा रहने, जिल्लाको मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुरुप आ–आफ्नो निकायबाट हुने सहयोग पु¥याउन भनिएको छ।

विपद्को समयमा सबै सरकारी निकाय, गैर सरकारी संघ संस्था, राजनैतिक दल, नेपाल रेडक्रस सोसाईटी, नेपाल स्काउट र आमनागरिक एकजुट भै विपद्बाट हुन सक्ने धनजनको क्षति न्यून गर्न समन्वयात्मक ढंगले उद्दार र राहतमा खट्न समेत भनिएको छ। सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरुबाट विपदजन्य घटनाबाट क्षति हुन नदिन सूचना संप्रेषण गरी आम नागरिकलाई सु–सूचित गराउन र तत्काल उद्दार कार्यमा सहयोग पुर्याउनु हुन समेत उनले अनुरोध गरेका छन् ।

बाढी पहिरो, डुबान जस्ता विपदजन्य घटना भएमा तत्कालै नजिकको प्रहरी इकाई वा स्थानीय तह वा जिल्लास्थित सुरक्षा निकाय वा नेपाल प्रहरीको कन्ट्रोल नं १०० मा सम्पर्क गर्न समेत भनिएको छ।

साझा गर्नुहोस्