दुई सय १२ किलो नौ सय २८ ग्राम लागू औषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा

गढिमाइ खबर
266 पाठक संख्या

कलैया । बारा प्रहरीले दुई सय १२ किलो नौ सय २८ ग्राम प्रतिबन्धित गाँजा बरामद गर्नुको साथै चार जनालाई शनिबार नियन्त्रणमा लिएको छ।

प्रहरीले प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडीलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उक्त गाडीका चालक मकवानपुरको थाहा नगरपालिका वडा नं. ४ तालुङ बस्ने पिकअप २८ वर्षीय रबि कार्की, सो गाडीमा सवार थाहा नगरपालिकाको वडा नं.१२ टिसटुङ बस्ने ४६ वर्षीय बिर बहादुर गोले, मकबानपुर हेटौडा नगरपालिका वडा नं. १४ बस्ने उतरपानीका २३ वर्षीय साजन मुक्तान,धादिङ जिल्ला थाक्रे गाँउपालिका वडा नं. ७ आपसी चौक ३१ वर्षीय महेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हेटौडाबाट प्रसौनी गण्डक तर्फ लागु औषध गाँजा जस्तो देखिने पदार्थ आई रहेको छ भन्ने बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले जाँच गरेको हो।

बाराको परवानिपुर गाँउपालिका वडा नं. ५ बहुअरी स्थित गण्डक नहरको सडक खण्डमा चेक प्वाईन्ट थापी सवारी साधन तथा पैदल यात्रीलाई जाँच गर्दा हेटौडाबाट प्रसौनी गण्डक तर्फ आउदै गरेको सो पिकअप गाडीलाई प्रहरीले जाँच गरेको हो।

उक्त पिकअप गाडीमा धानको भुस भित्र लुकाई छिपाई लगि रहेको अवस्थामा गाँजा वरामद भएको हो। नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

साझा गर्नुहोस्