फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंह लगायत तीन जना उपर भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर

गढिमाइ खबर
156 पाठक संख्या

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंले फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह लगायत तीन जना उपर भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको छ।

काठमाण्डौंको विशेष अदालतमा अख्तियारले मंगलबार आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य (पि.आर.एम ०४/०७९/८०) को खरिद प्रक्रिया गोप्य राखेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान अख्तियारले गरेको थियो।

फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहले फेटा गाउँपालिका, बाराबाट आ.व.२०७९।०८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य (पि.आर.एम ०४/०७९/८०) बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन,२०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो।

तर उनीहरुले नेपाल मिडिया हाउस प्रा.लि.का निर्देशक नवराज निरौलासँगको मिलोमतोमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशन नगरी नगराई लुकाई,छिपाई फेटा गाउँपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी उक्त पत्रिकाको सोही मिति र अंकको देखिने गरी केही प्रतिमा मात्र बोलपत्र आह्वानको सूचना समावेश गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा नेपाल मिडिया हाउस प्रा.लि.को बिलबाट रु.१ लाख ४२ हजार १ सय ६० रुपैयाँ (भ्याट बाहेक) रकम भुक्तानी दिएको पुष्टि भएको अख्तियारले जनाएको हो।

प्रतिवादीहरु गौरीशंकर कुमार सिंह र मुकेश प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु. एक लाख बयालीस हजार एक सय साठी रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी अख्तियारले विशेष अदालतमा गरेको छ।

नेपाल मिडिया हाउस प्रा.लि. तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलाले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहसँगको मिलोमतोमा फेटा गाउँपालिकाबाट आ.व.२०७९।०८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य (पि.आर.एम: ०४/०७९/८०) बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन,२०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकाले प्रेस काउन्सिलमा पेश गरेको मिति २०७९।०७।२० मा प्रकाशित उक्त पत्रिकाको अभिलेखमा बोलपत्र सूचना प्रकाशन भएको नदेखिएकोले सूचना प्रकाशन नगरी नगराई लुकाई,छिपाई फेटा गाउँपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी उक्त पत्रिकाको सोही मिति र अंकको देखिने गरी केही प्रतिमा मात्र बोलपत्र आह्वानको सूचना समावेश गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा रु.१ लाख ४२ हजार १ सय ६० (भ्याट बाहेक) रकम भुक्तानी लिएको पुष्टि भएको अख्तियारले जनाएको हो।

नेपाल मिडिया हाउस प्रा.लि. तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा मुख्य कसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिईएको विशेष अदालत,काठमाडौमा आरोपपत्र दायर गरिएको पौडेलले जनाएका हुन्।

साझा गर्नुहोस्