वीरगञ्ज : सेवाग्रहीको चापलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका छुट्टा छुट्टै चार स्थानबाट राष्ट्रिय परिचयपत्र बनाईने भएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या अत्यधिक भएसँगै सहजताका लागि जिल्लाको चार ठाउँबाट विवरण सङ्कलन गर्ने काम गर्न लागिएको प्रशासन कार्यालयले जनाएको छ ।
यही वैशाख १४ गतेदेखि पर्सामा चार स्थानबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले जानकारी दिनुभयो ।
उनले “विगत केही दिनदेखि कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राखेर चार स्थानबाट सेवा प्रवाह गर्न लागिएको बताए ।
पर्साको जिल्ला प्रशासन कार्यालयबाट,इलाका प्रशासन कार्यालय सुपौलीबाट,वीरगञ्ज महानगरपालिका कार्यालयबाट र पोखरिया नगरपालिका कार्यालयबाट गरि पर्साका सवै पालिकाहरुलाई समेटेर राष्ट्रिय परिचयपत्र बनाईने जनाईएको छ ।
पर्सा जिल्लाबाट दुई लाख ७५ हजारभन्दा धेरै सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाइसकेका र ४० हजार राष्ट्रिय परिचयपत्रको कार्ड छपाइ भएर आइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।









