बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी केसी

गढिमाइ खबर
193 पाठक संख्या पढ्न लाग्न समय 4 मिनेट
पढ्न लाग्न समय 4 मिनेट

कलैया : खुल्ला सीमानाको फाईदा उठाउँदै तस्करहरुको रजगज बारामा जारी रहेको पाइएको छ। सीमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरेको छ। जसमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या अत्याधिक रहेको छ।

भारतसंग जोडिएको बाराको सीमानाकाहरुबाट सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी धन्दा मौलाएको पाइएको छ। बाराको सिम्रौनगढ,कवहीगोठ,मटिअर्वा,छतवा बरैनिया लगायतका नाकाहरुबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सीको संरक्षणमा तस्करी भईरहेको हो।

यी नाकाहरुको प्रयोग गरी कपडा,औषधी,काजु,प्याज लगायत दैनिक उपभोग्य सामानको तस्करी भइरहेको हो। यस्तै विभिन्न किराना सामान,हार्डवेयर,मोबाईल र मोबाईल पार्ट,कम्पयूटर पार्टस,कबाडको नाममा तस्करी लगायतका सामानहरुको तस्करी भईरहेको छ।

तस्करी गर्ने तस्कर समूहलाई सशस्त्र प्रहरी बल बाराका प्रहरी उपरीक्षक केसीले आय आर्जनको साधन बनाएका छन्। उनले सिमानाकामा तैनाथ बिओपी इन्चार्जदेखी गणका प्रहरी संगठनकै कर्मचारहरुलाई अघोषित घुमुवाको रुपमा परिचालन गरी तस्करी वापतको रकम असुल्ने गरेको स्रोतको दावी रहेको छ।

भारतबाट अवैध रुपमा भित्रियाईने सामानहरु एसपी केसीकै संरक्षणमा बाराको कलैया बजार,सिम्रौनगढ,जितपुर,सिमरा,रौतहटको चन्द्रनिगाहपुर लगायतको ठाउँसम्म जाने गरेको छ।तस्करहरुसंग सशस्त्रका एसपी केसीको साठगाठ भएपछि आर्थिक नजराना बुझी सिमानाकामा तैनाथ बिओपी इन्चार्जले समेत तस्करी धन्दालाई सघाउने गरेको बताइन्छ।

तस्कर समूहले बाराको विभिन्न नाकाहरुबाट दिउँसो र मध्यरातको समयमा तस्करी गर्दै आएका छन्। उनीहरुले मोटरसाईकल तथा भरियामार्फत तस्करी गर्दै आईरहेका छन् । कुनै कुनै बेला रातीको समयमा पिकपअबाट समेत तस्करी हुने गरेकोे स्रोतको दाबी छ।

बाराको देवताल गाउँपालिका–३ अमवा सिमा क्षेत्रमा दक्षिण झिटकैया बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक धन बहादुर तामाङले आफ्नो नजिक रहेका प्रहरी सहायक हवल्दार श्याम चौधरीलाई परिचालन गरि तस्करी गराउनमा लागेको बिहिवार एक भिडियो सार्वजनिक भएको छ। भारतबाट ल्याउदै गरेको साइकलमा लोड सामानहरु सशस्त्र प्रहरीका सहायक हवल्दार चौधरीले नियन्त्रणमा नलिइ छोडिएको उक्त भिडियोमा देखिएको हो।

त्यस्तै सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका प्रहरी नायब उपरीक्षक योगराज दाहालको निर्देशनमा सेटिङ मिलाएर मटिअर्वा नाकामा व्यापक तस्करी भइरहेको गत फागुन २९ गते भिडियो सार्वजनिक भएको थियो। मटिअर्वा चौकमा स्थानीय सहमत मिया दर्जीले भिडियो कलमा कुरा गरेकै भरमा सशस्त्र प्रहरीले उनलाई निर्घात कुटपिट गरेर उनको मोवाईल नै नियन्त्रणमा लिएका थियो।

उक्त चौकमा सशस्त्र प्रहरीले बस्ने ठाँउमा एउटा कार्टुन राखेको र त्यो कार्टुनमा दैनिक साइकल र मोटरसाइकलमा तस्करी गर्ने ब्यक्तिहरु संग १० देखि एक हजार रुपैयाँ समेत लिने गरेको स्थनीयहरुले आरोप लगाएका थिए। उक्त कार्टुन चेक गर्ने क्रममा पैसा समेत फेला परेको थियोे । सो कार्टुनमा भएको पैसा सहायक हेड कन्स्टेबल धर्मराज अधिकारीले लिएर भागेका थिए ।

त्यही तस्करहरुसंग रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा चार जना सशस्त्र प्रहरी बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ रिजर्भ गण हेडक्वाटरमा तानिएका थिए।

त्यसपछि सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालको सशस्त्र प्रहरी मुख्यालयले सरुवा गरेको थियोे । दाहालको ठाउँमा सशस्त्रको मुख्यालयले प्रहरी नायब उपरीक्षक उदयराज न्यौपानेलाई पठाएको थियो ।

त्यसैगरी तस्करी सम्बन्धी समाचार सार्वजनिक भएपछि कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा नाकास्थित गण्डक नहर चौकमा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी आफै छड्के अनुगमनमा हिडेका थिए ।

सोही क्रममा नाका भएर मोटरसाईकलहरुमा लोड गरेर सामानहरु लिएर बोडर पास गरे तर सोही नाकामा सुरक्षाका लागि बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुले वेवस्ता गर्दै तस्करीमा सघाएको गरी बसेका प्रजिअले फेला पारेका थिए।

सीमा नाकाबाट साईकल,मोटरसाईकलमा बोराका बोरा मालसामान आउदा पनि प्रहरी जवानहरुले नजरअन्दाज गर्दै सोधपुछ समेत नगरेपछि उनीहरुको पनि मिलोमतोमा व्यापक तस्करी भईरहेको भन्दै प्रजिअ अधिकारीले तत्काल सशस्त्र प्रहरी हवल्दार धिरेन्द्र चौधरी र नेपाल प्रहरीका प्रहरी जवान राजकुमार साहलाई निलम्बन गर्न एसपी खुम बहादुर केसीलाई निर्देशन दिएका थिए ।

यस विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सीसंग बुझ्दा कुनै पनि नाकाबाट तस्करी नचलेको बताएका छन्।ठाँउ ठाउँमा गलत गतिविधि गर्ने सशस्त्र प्रहरीका कर्मचारीहरुलाई विभागीय कार्वाही समेत गरेको उनले बताए।

साथै सिमा नाकामा घरायसी,विवाहका लागि सिफारिसको र चिनजानको भरमा सहजीकरण गर्ने गरेको उनले बताए।

ट्यागहरू :
साझा गर्नुहोस्