कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित प्रादेशिक अस्पताल कलैयाका छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलब नपाएपछि आन्दोलनरत छन्।
छात्रवृत्ति करारमा कार्यरत रहेका विशेषज्ञ चिकित्सक,मेडिकल तथा नर्सिङ अधिकृत र फार्मेसी अधिकृतहरुले ५ महिनादेखि तलब नपाएको भन्दै बिहीवार अस्पतालको प्राङ्गणमा आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले सेवाहरु बन्द गरेर आन्दोलन गरेपछि उपचारको लागि कलैया अस्पतालमा आउने बिरामीहरु समस्यामा परेका छन् । पाँच महिनादेखि तलब नपाएपछि चैत २ गतेदेखि आन्दोलन गर्दै आएको मेडिकल अधिकृत अकाश जयसवालले बताएका छन्।
तलबका लागि केन्द्र,प्रदेश र जिल्ला प्रशासन कार्यालय बारामा जानकारी गराउदा समेत केही निष्कर्ष नआएको उनले बताए । मधेस प्रदेशमा छात्रवृत्ति करारमा कार्यरत रहेका चिकित्सक एक सय भन्दा बढी जनाले तलबका लागि पेन डाउन गरेको मेडिकल अधिकृत जयसवालले बताएका छन् ।पाँच दिन अगाडि नेपाल चिकित्सक संघमा आन्दोलन बारे जानकारी गराएको उनले बताए ।
संघले ७२ घण्टाको अल्टिमेटम दिएपनि केही उपलब्धि नभएपछी अस्पतालमा पेन डाउन गरेको उनले बताए । प्रादेशिक अस्पताल कलैयाका आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको उनले बताए ।
नेपाल सरकारको छात्रवृति करार अन्तर्गत प्रादेशिक अस्पताल कलैयामा डाक्टर रमेश कुशवाहा,डाक्टर रिचा मण्डल,डाक्टर आलोक यादव,डाक्टर सुरज साह,डाक्टर तबरेज आलम,डाक्टर आकाश जैसवाल,डाक्टर अवनिश यादव,डाक्टर राजा जैसवाल,सोनि यादव,बिनिता दास,जाया यादव,सृजना कुशवाहा र चन्देश्वर जैसवाल गरी १३ जना कार्यरत चिकित्सकहरुले तलब पाएका छैनन् ।
जसले गर्दा अस्पतालको ओपिडी सेवा ठप्प भएपछि सेवाग्राहीहरु मारमा परेका छन्। यता बारागढी गाउँपालिकाको खोपवा –४ मा बस्ने जलिलराय भाट आफ्नो गाउँदेखि कलैया अस्पतालमा उपचारका लागि ३ दिन देखि अस्पताल धाउदा समेत हालसम्म उपचार नभएको बताएका छन् ।
२ जना गाडीमा ४ सय भाडा तिर अस्पताल आउँदा समयमा उपचार नपाएपछी आफु निराश भएर फर्कन बाध्य भएको जनाएका छन्।
गरिब जनताको उपचारका लागि एक मात्र सरकारी अस्पताल हुन्छ सुनेको थिए तर प्रादेशिक अस्पताल कलैया मात्र नामको सरकारी अस्पताल भएको उनले दुख्सो पोखेका छन् ।
त्यस्तै गर्भवती महिलालाई उपचार गराउन पचरौता नगरपालिकादेखि ५ सय रुपैया भाडा तिर कलैया अस्पतालमा आएपनि चिकित्सकहरुको आन्दोलनका कारण समयमा चेकअप उपचार हुन नसकेको हुसेनतारा खातुनले बताएकी छिन् ।
कलैया अस्पतालमा आएका अधिकांश विरामी आन्दोलनको कारण पीडित बनेका हुन्। बिहिवार टिकट काउण्टरले ओपिडी सेवाका सम्पुर्ण पुर्जी काट्न समेत बन्द गरेका थिए ।
यसैविच नेपाल चिकित्सक संघ मधेश प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष डा.निरजकुमार सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न उनले प्रदेश सरकारसंग माग गरेका छन्।
सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल चिकित्सक संघ मधेश प्रदेश द्वारा मधेश प्रदेशको श्रीमान मुख्यमन्त्रीज्यूलाइ ध्यानाकर्षण पत्र २०८१÷१२÷१७ गते दिएको उल्लेख गरेका छन्।
जसमा मधेस प्रदेशको प्रादेशिक अस्पताल,शिक्षण संस्थान र स्थानीय तह अन्तर्गतका अस्पतालहरुमा खटाइएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब भुक्तानी नभएको जनाइएको छ। यस विषयप्रति मधेश प्रदेश सरकारलाई ७२ घन्टाको अल्टिमेटम दिएको थियो जुन अल्टिमेटमको समय सीमा सकिएको विज्ञप्तिमा जनाइएको छ।
मधेश प्रदेश सरकारले गम्भीरतापूर्वक नलिएको हुदो मधेश प्रदेश स्थित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका चिकित्सकीय सेवाहरु मिति २०८१ चैत २१ र २२ गतेका दिन बन्द रहने विज्ञप्तिमा लेखिएको छ। थप आन्दोलनका कार्यक्रमहरु २०८१ चैत २२ गते थप विज्ञप्ति मार्फत जारी गरिने उल्लेख छ ।